जनता टाइम्स

४ आश्विन २०७८, सोमबार २०:५४

प्रधानमन्त्री देउवाले सवैलाई निराश बनाए, प्रतिरक्षा गर्नसक्ने अवस्था नै रहेन : गगन थापा



काठमाडौं,। नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गर्नुभएको छ ।

केहिदिन अघि पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिनुभएका देउवाले सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आलोचना चुलिएको हो ।

गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने गर्दा प्रतिरक्षा गर्ने अवस्था नभएको भन्दै नेता थापाले पत्रकारहरुसँग भन्नुभयो, ‘म कांग्रेसको कार्यकर्ता, मेरो सरकारले भनेर कामको रक्षा गर्न सक्ने अवस्था छैन । हामी सबै खुम्चिनु परेको छ । मन्त्रिमण्डलको पूर्णता किन नगरेको भन्ने कुरालाई किन्तु परन्तु भनेर प्रतिरक्षा गर्नै सक्दिँन । कतिपय नगर्नुपर्ने काम भएका छन्, गर्नुपर्ने काम भएको छैन । समयमा गर्नुपर्ने काम भएको छैन । मसँग उत्तर नै छैन ।’

अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेसको चुनावी भविष्यसमेत जोडिएको भन्दै उहाँले थप्नुभयो, ‘यो सरकारको सफलतासँग कांग्रेसको चुनावी सफलता जोडिएको छ । अब ओली सरकारले गरेका काम कारबाही हाम्रा एजेण्डा बन्दैन । त्यसलाई जनताले बिर्सिसके ।’