जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार ०८:०१

महत्वपुर्ण सीमा स्तम्भको अध्ययनबिनै फर्कियो हुम्ला गएको सरकारी अध्ययन टोली, ११ नम्बर स्तम्भ गएन


काठमाडौं, असोज ५ । नेपाल-चीन सीमामा पर्ने हुम्ला जिल्लाका विकट क्षेत्रमा अवस्थित सीमा क्षेत्रको स्थलगत अध्ययनमा गएको सरकारी टोलीले सातवटा सीमा स्तम्भको प्रत्यक्ष अवलोकन गरेर फर्किएको छ । अन्य तीनवटा सीमा स्तम्भमा कुनै समस्या नरहेको जानकारी सुरक्षा निकायबाट पाएको उसले बताएको छ। नापी विभाग र सुरक्षा निकायका समेत प्रतिनिधि रहेको उक्त टोलीमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि भने सामेल गराइएको थिएन।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गएको उक्त टोलीले नेपाल-चीन सीमा स्तम्भ नम्बर १२ नजिकैको लीमी लाप्चा क्षेत्रको पनि भ्रमण गरेको थियो। सहसचिव आर्चायले मौसमी प्रतिकूलताका कारण ११ नम्बर पिलरसम्म आफूहरूले भ्रमण गर्न नसकेको जानकारी दिनुभयो । उहाँले सुरक्षाकर्मी र सरोकारवाला पक्षले उपलब्ध गराएका जानकारी समेटेर अबको करिब एक साताभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाइने जानकारी दिनुभएको छ । तर नाम्खा गाउँपालिकाको ६ नम्बर वडामा पर्ने टाकुले लेकमा झन्डै ५ हजार २०२ मिटर उचाइमा अवस्थित ११ नम्बर सीमा स्तम्भको अवलोकनबिना सरकारी अध्ययन पूर्ण हुन सीमाविदहरुको भनाइृ छ । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ ११ नम्बरको पिलरको स्थलगत अवलोकनबिना सीमा क्षेत्रमा चिनियाँ पक्षले निर्माण गरेका भवनका कारण उब्जिएको विवादको निरुपण कठिन हुने बताउनु हुन्छ ।

अघिल्लो सरकारको पालामा चीनले नेपाली भूमिमा भवनहरू बनाएका विवरण आए पनि त्यसबेला नेपाली अधिकारीहरूले चिनियाँ भूमिमा नै ती संरचनाहरू बनेका बताएका थिए। तर सीमा अनुगमन नै नगरी सरकारले त्यस्तो धारणा सार्वजनिक गरेको भन्दै नेपाली कांग्रेसका कतिपय नेताले असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ १६ गते हुम्ला जिल्लास्थित नेपाल(चीन सीमा क्षेत्रमा ुदेखिएका समस्याु बारे अध्ययन गर्न अचानक एउटा समिति गठन गर्नुभएको थियो ।

हुम्ला गएको टोलीले के गर्‍यो ?

सहसचिव आचार्यले आफू नेतृत्वको टोलीले हुम्लामा रहेका सीमा स्तम्भहरू ५, ६, ७, ८, ९ १० र १२ को भ्रमण गरेको बताउनुभएको छ। आचार्य नेतृत्वको टोलीले अघिल्लो साल चिनियाँ पक्षले भवनहरू बनाएको भनिएको लिमी लाप्चा क्षेत्रको पनि भ्रमण गरेको थियो। पिलर नम्बर १२ भएको लाप्चा भन्ज्याङ र त्यहाँ नजिकैको लोलुलुङ भञ्जाङ भनिने मानसरोवर दर्शन गर्न सकिन्छ र संरचनाहरू बनेको छ भनिएको छ। अति दुर्गम क्षेत्रमा अवस्थित ११ नम्बर सीमा स्तम्भ भएको ठाउँमा मौसमी प्रतिकूलताका कारण आफूहरू पुग्न नसकेको आचार्यको भनाई छ ।

हुम्ला जिल्लामा नेपाल र चीन बीचको सीमा छुट्ट्याउने १० वटा सीमा स्तम्भ रहेका छन्। पछिल्लो अध्ययनमा गएको सरकारी टोलीका अनुसार तीन नम्बर स्तम्भ बझाङ जिल्लाको सीमाना नजिकै पर्छ भने चार हिल्साको माथिल्लो भेगमा पर्छ। आचार्यका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तीन नम्बर स्तम्भ भएको ठाउँमा झन्डै एक महिनाअघि र चार नम्बर स्तम्भ भएको ठाउँमा तीन हप्ताअघि पुगेको थियो। दुवै ठाउँमा समस्या नभएको जानकारी आफूहरूलाई गराइएको आचार्यको भनाई छ ।