जनता टाइम्स

६ असार २०७६, शुक्रबार ११:१६

भेंडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप


जुम्ला, असार ६

जुम्लामा छ हजार भेंडाबाख्रालाई पिपिआर रोग (भाइरल डिजिज) विरुद्धको निःशुल्क खोप लगाइएको छ । चन्दननाथ नगरपालिका क्षेत्रभित्र पर्ने पशुसेवा केन्द्र तलिउममा तीन हजार १९० र चन्दननाथ नगरपालिका जुम्ला शाखामा दुई हजार आठ सय भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको पशुसेवा केन्द्र तलिउमका प्राविधिक धनवहादुर बानियाँँले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाको आयोजनामा मङ्गलबार लगाउन शुरु गरिएको खोप बिहीबार सकिएको हो । पिपिआर रोगका कारणले भेडाबाख्रा नमरुन् भनेर वर्षेनी खोप कार्यक्रम सञ्चालन गरिँदै आइरहेको चन्दननाथ पशु शाखाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो । समयमै खोप लगाउनका लागि सामुदायिक रेडियोबाट प्रचारप्रसार गर्दै आएको उहाँको भनाइ छ ।

पछिल्लो समयमा सो रोग नफैलिएको उहाँले जानकारी दिनुभयो । एक वर्ष खोप लगाइएका भेंडाबाख्रालाई पछि दुई वर्षसम्म खोप लगाउनु आवश्यक पर्दैन । अघिल्लो वर्ष खोप नलगाएका भेडाबाख्रालाई कुनै रोगले सङ्क्रमण नगर्ने भएकाले खासै समस्या नहुने प्राविधिक बानियाँले बताउनुभयो ।

भेडाबाख्रामा रोगको सङ्क्रमण हुनेबित्तिकै पशु स्वास्थ्य चिकित्सकसँग परामर्श लिन आग्रह गरिएको छ । पछिल्लो समयमा भेंडाबाख्रापालन लोप हुँदै गइरहेका बेला संरक्षण र प्रवद्र्धन अभियानमा केन्द्रित हुनका लागि सुझाव दिइएको छ ।