जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १७:११

बोलाएको समयमा वडाध्यक्ष नआएपछि जलाइयो वडा कार्यालय


सुर्खेत, असोज ६ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा आगलागी भएको छ। आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ।

कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिनुभयो ।

वडाध्यक्ष सुनारले भन्नुभयो,‘वीरेन्द्रनगर वडा नं–१ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई फोन गरेका थिए । १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए । सो समयमा आफु एउटा कार्यक्रममा भएकोले केही समय लाग्ने हतार भए कागज लिएर आउनु भनेर फोन राखे केही समयमा त कार्यलयमा आगलागी भयो भन्ने खबर आयो ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।