जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार १६:४१

राजेन्द्र राईको त्यो धम्कीसामू झुक्न बाध्य भए माधव


काठमाडौं, असोज ७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदाधिकारी चयन फलामको च्यूरा चपाउनुसरह बनेको छ । माधवले आफ्नो आदेश तामेली गर्न निर्देशन दिएपनि अखिलका पूर्वअध्यक्ष राजेन्द्र राईले बिद्रोह गरेपछि यस्तो अवस्था आएको हो ।

राईले आफूभन्दा जुनियरलाई सचिव बनाएर आफूलाई छुटाएको भन्दै पार्टी छोड्ने धम्की दिएपछि माधव नेपालले सचिवको जिम्मेवारी दिन बाध्य हुनुभएको छ । आफू भन्दा कनिष्ट रामकुमारी झाँक्रीलाई सचिवको जिम्मेवारी दिएर आफलाई केन्द्रीय सदस्य मात्र राखिएपछि राईले आज विहानैदेखि पार्टी छोड्ने बारेमा निकटस्थहरुसँग छलफल गर्नुभएको थियो । पार्टीका उपाधक्ष्य राजेन्द्र पाण्डेले विहान सार्वजनिक गरेको पदाधिकारी सूचीमा राईको नाम थिएन ।

प्रदेश नं १ मा भीम आचार्य एमालेमै बस्ने भएपछि त्यस प्रदेशको नेता नै आफू भएकोले त्यसै अनुसारको जिम्मेवारी पाउनु पर्ने राईको दाबी थियो । ‘उहाँको माग उपाधक्ष्य नै थियो’ नेकपा एस निकट स्रोतले भन्यो, ‘तर सचिव पनि नपाएपछि यो पार्टीमा बसेर के काम भन्दै निकटहरुसँग परामर्श थाल्नु भएको थियो ।’ राईले पद नपाए पार्टी नै छोड्न सक्ने संकेत पाएपछि माधव नेपालले सचिवको पद थपेर थामथुम पार्नुभएको हो ।