जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १५:४२

ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको माग


काठमाडौं, असोज १०। ए–लेभलका विद्यार्थीहरुले ब्रिटिश काउन्सिलले २ महिना लामो परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले कोरोना भाइरसको त्रास र नजिकिदै गरेको चाडवाडको कारण वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै ए–लेभलका विद्यार्थी सुराजन रिजालले यदि भौतिक रुपमा परीक्षा लिने हो भने ब्रिटिश काउन्सिल वा सरकारले विद्यार्थीहरुको जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘वैकल्पिक माध्यमबाट परीक्षा लिन माग गर्दा ब्रिटिश काउन्सिलले कसैको ग्यारेन्टी लिन नसक्ने जवाफ दियो ।’

कोरोना भाइरसको डर र नजिकिदै गरेको चाडबाडको कारण पनि भौतिक रुपमा परीक्षा दिन सहज नहुने उहाँको भनाई थियो । उहाँले २ महिनाको लामो अन्तरालमा विद्यार्थीले निर्धक्क भएर परीक्षा दिन पाउनुपर्ने सरकारसँग माग राख्नुभयो । सरकारले विद्यार्थीलाई प्रवेशपत्रको आधारमा कोरोना खोप लगाउने व्यवस्था गरेपनि अहिलेसम्म सबै साथीहरुले प्रवेश पत्र नै नपाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ब्रिटिश काउन्सिलले विद्यार्थीलाई कोरोना लागे के गर्नुहुन्छ भनेर सोध्दा उल्टै पैसा सबै फिर्ता दिन्छु भन्यो ।’

ब्रिटिश काउन्सिलको गैह्र जिम्मेवारीपनले विद्यार्थीहरु थप मानसिक तनावमा परेको समेत बताउनुभयो । कार्यक्रममा ए–लेभलकी छात्रा आभा गौतमले क्याब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिने भन्दै गर्दा पनि ब्रिटिश काउन्सिलले चासो नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘ब्रिटिस काउन्सिलले आफुहरुलाई कन्सिडर गर्छौ तर पुरै जिम्मेवारी लिन नसक्ने जवाफ दियो ।’

२ महिना लामो परीक्षा दिन विद्यार्थीहरुलाई धेरै नै जोखिम भएको पनि उहाँले सुनाउनुभयो । त्यस्तै उहाँले सरकारले ब्रिटिश काउन्सिललाई सम्झाउन दिन समेत आग्रह गर्नुभयो । अर्का विद्यार्थी दिपेश बाँस्कोटाले कार्यक्रममा विद्यार्थीहरुलाई कोरोना खोपको व्यवस्था नभएकोले भौतिक परीक्षा रोक्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रा धेरै साथीहरु १८ वर्ष नपुेको कारणले कोरोना विरुद्धको खोप लगाउनबाट बन्चित भएका छन् ।’ यदि परीक्षा यही समयमा लिनै पर्ने हो भने सरकारले जिम्मेवारी लिनुपर्ने उहाँको भनाई थियो । क्याम्ब्रिज विश्वविद्यालयले वैकल्पिक माध्यमलाई मान्यता दिनेहुँदा ब्रिटिश काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने उहाँको माग छ ।