जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १७:३६

सकियो एमाले केन्द्रीय कमिटी बैठक, यस्तो छ निर्णय


काठमाडौं, असोज १० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा तीन दिनदेखि जारी बैठक आज बिधान महाधिवेशनमा प्रस्तुत गर्ने तीन ओटै प्रतिवेदन सुझावसहित पारित गर्दै सकिएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकले बिधानमा प्रस्ताव भएअनुसार तीन उपाध्यक्ष नै कायम राख्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रममा सात उपाध्यक्ष राख्न सुझाए पनि कमिटी भद्ध्द्धा हुने भन्दै बैठकले तीन उपाध्यक्ष नै कायम रहने ब्यवस्थालाई पारित गरेको हो ।

‘केन्द्रीय कमिटीको बैठक तीन दिनसम्म चलेर विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ, अबको ध्यान विधान महाधिवेशनतर्फ केन्द्रित भएको छ,’ बैठकपछि जनताटाइम्ससँग केन्द्रीय सदस्य रिजालले भन्नुभयो ।।