जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १२:०१

झापामै बिश्वप्रकाशलाई गम्भीर धक्का, कृष्ण सिटौलाले गरिदिए देउवा समुहलाई ‘क्लीनस्वीप’


बिर्तामोड, असोज ११ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापाका सबै गाउँ तथा नगरपालिकामा भएको अधिवेशनमा सभापति शेरबहादुर देउवा र प्रवक्ता बिश्वप्रकाश शर्मालाई ठूलो धक्का लागेको छ । सवै पालिकाका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो बर्चश्व कायम गर्दै देउवा समुहलाई क्लीनस्वीप गरिदिनु भएको हो ।

निर्वाचनमा ४ पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट नयाँ कार्यसमिति चयन भएको हो । सबैमा काँग्रेसका पूर्वमहामन्त्री सिटौला निकट सभापतिमा निर्वाचित भएका छन् । कन्काई नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाई चयन हुनुभएको छ भने शर्माकै गृहनगर मेची नगरपालिकामा सुदय पनेरु निर्वाचित हुनुभएको छ । यस्तै, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला, झापा गाउँपालिकामा साघीरथ गणेश सभापति चयन हुनुभएको छ ।

यस्तै कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र दमक नगरपालिकामा प्रकाश प्रसाई चयन हुनुभएको छ । यसैगरी अर्जुनधारा नगरपालिकामा हेमराज खरेल, भद्रपुर नगरपालिकमा रामबहादुर कँडेल, बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा सभापति चयन हुनुभएको छ । यसैगरी गौरादह नगरपालिकामा यादव राज सेढाईं, शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत र हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई चयन हुनुभएको छ ।

यस्तै गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनुप्रसाद राजवंशी, बाह्र दशी गाउँपालिकामा इन्दु बस्नेत र कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन हुनुभएको छ ।११ पालिका निर्वाचन हुँदा सिटौला निकट सभापतिका उम्मेदवारसँग अधिकांश पालिकामा महामन्त्रीका उम्मेदवार तथा पार्टी प्रवक्ता विश्वप्रकाश निकटले प्रतिस्पर्धा गर्नुभएको थियो । केहीमा सभापतिका दाबेदार शेखर कोइराला निकटले प्रतिस्पर्धा गरेका थिए । झापामा भएको नगर र गाउँपालिका निर्वाचनले यसपटक सिटौलाको पकड १३ औं महाधिवेशन भन्दा बलियो देखाएको छ ।