काठमाडौं, कात्तिक ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति कटु आलोचना गर्नुभएको छ । आज आयोजित नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देउवा सरकारले गति समात्नै नसकेको भन्दै कडा आलोचना गर्नुभएको हो ।
थापाले सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्नै नसकेको आफ्नो निश्कर्ष सुनाउनु भयो । ‘सरकारले गति समात्नै सकेन, जुन गति समाउनुपर्ने हो, त्यो गति हामीले पक्रिन सकेका छैनौं । नेपाली नागरिकलाई डर लागेको छ । जसरी हामीले पहिलोपटक २००७ सालपछि खेर फाल्यौं । फेरि १९९० पछि खेर फाल्यौं । अहिले फेरि एउटा मौका खेर फाल्दैछौं कि भनेर डर लागिरहेको छ ।’
पूर्वमन्त्री थापाले मुलुकको अगाडि केही मौकाहरु बाँकी रहेको र यस्तो बेला सम्हालिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । ‘एसियाभित्र भारत र चीनलाई केन्द्र बनाएर विश्वको राजनीति, विश्व अर्थतन्त्र चलिरहेको छ । त्यसको नजिक हामीहरु छौं र यो अवसर १५/२० वर्ष अझै रहनेछ । नेपाल लाभ लिनसक्यो भने सक्यो । नत्र हामी चुक्छौं । नेपालले प्रगति गर्न सक्दैन,’ थापाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्