जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार १६:५१

आचारसंहिताविपरीत हुन लागेको कार्यक्रममा प्रधानमन्त्रीको आगमन स्थगित गर्न देउवाविरुद्ध उजुरी


काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।

गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा आज चितवन आउँदै हुनुहुन्छ । देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिनुभएको हो । आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गर्नुभयो ।

‘भोलि हुने आमसभाको विषय जोडेर आज एउटा लिखित उजुरी परेको छ,’ उहाँले भन्नुभयो । यो विषयमा निर्वाचन आयोगलाइ जानकारी गराइएको र पत्राचार गर्ने तयारी पनि भइरहेको उहाँले बताउनुभयो । आज जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय आचारसंहिता अनुगमन समितीको बैठक बसेर आचारसंहिता पालनाका लागि सुरक्षा निकायलाइ पनि पत्राचार गर्न लागिएको उहाँले बताउनुभयो ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन् । आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिता विपरीतको कार्य भएमा सजाय गर्नका लागि पनि अधिवक्ता अधिकारीले माग गर्नुभएको छ ।

‘२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ,’ उजुरीमा भनिएको छ ।