जनता टाइम्स

६ असार २०७९, सोमबार १९:५८

काठमाडौं महानगरमा ज्येष्ठ नागरिकलाई सुविधा नै सुविधा : दोब्बरले बढ्यो भत्ता, औषधी उपचार पनि निशुल्क


काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक पहिलो प्राथमिकतामा परेका छन । आइतबार मेयर बालेन्द्र शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ज्येष्ठ अशक्त नागरिकको भत्ता दोब्बर पार्ने तथा औषधोपचार निशुल्क उपलब्ध गराउने योजना अघि सार्नुभएको हो ।

उक्त नीति कार्यक्रममा महानगरपालिकामा रहेका पूर्ण अशक्त क बर्गका नागरिकहरुलाई साविकमा दिइँदै आइरहेको वार्षिक तीन हजार रुपैयाँ भत्तालाई बढाएर ६ हजार पुरयाइएको छ।

त्यसैगरी यही असार मसान्तसम्म ७५ वर्ष उमेर पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिकलाई मासिक एक हजारका दरले वार्षिक १२ हजार उपलब्ध गराउँदै आएको महानगर बिशेष भत्तालाई निरन्तरता दिइने उल्लेख छ।

७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाइने पनि उल्लेख छ। ७० वर्ष नाघेका वरिष्ठ ज्येष्ठ नागरिहरुलाई महानगरपालिकाका वडा कार्यालयहरुसँग समन्वय गरी सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउन आवश्यक समन्वय गरिने पनि नीति कार्यक्रममा राखिएको छ।

ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभब पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिने तथा वडामा रहेका ज्येष्ठ नागरिक मिलन केन्द्रहरुसँग सहकार्य गरी कार्यक्रम संचालन गरिने पनि समेटिएको छ।

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकमा देखापर्ने बिशेष रोगहरु (अल्जाइमर्स, पार्किन्सन्स आदि) को उपचार गर्ने अस्पतालहरुसँग सहकार्य गरी ज्येष्ठ नागरिक उपचार कक्ष स्थापना गरी संचालनमा ल्याउन आबश्यक सहयोग र समन्वय गरिने पनि उल्लेख छ।

अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुका लागि सीप बिकास तथा अपाङ्गता भएका अभिभावकहरुका लागि स्याहार सीपका तालिम कार्यक्रम संचालन गरिने र अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सहायक सामग्री निशुल्क वितरण गरिने उल्लेख छ।

महानगर क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा अपाङ्गमैत्री एटीएम मेसिनसमेत संचालन गर्न आवश्यक समन्वय गरिने कार्यक्रम पनि राखिएको छ।