जनता टाइम्स

२८ असार २०७९, मंगलवार १९:२६

यौन दुर्ब्यवहार आरोपमा समातिए कांग्रेसबाट निर्वाचित यी वडाध्यक्ष


मकवानपुर, असार २८ । मध्यराती किशोरीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ । घलानलाई आज प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार आज दिउँसो १ बजे हेटौंडा बजारबाट वडा अध्यक्ष घलानलाई पक्राउ गरिएको हो ।

राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश–९, नामटारस्थित कालिका माविकी छात्रालाई हेटौंडा–१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राति यौन दुर्ब्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको थियो।

पक्राउ परेका वडा अध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । पीडित किशोरीले आफू खेलकुदमा सहभागी भई सुतिरहेको बेला राती १२ बजे शरीरमा केही कुदेजस्तो लागेर हेर्दा वडाध्यक्ष घलानले आफ्नो गोप्य अंग सुमसुम्याइ रहेको भेटेपछि लात्तीले हानेर भगाएको बताएकी थिइन । सत्ताको आडमा जोगिने प्रयाश गरे पनि उनलाई जिल्ला अदालत मकवानपुरले पक्राउ पुर्जी जारी गरेपछि आज पक्राउ परेका हुन ।