दोलखा, कात्तिक २३ । दोलखामा गठबन्धनमा आवद्ध दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको गम्भिर ब्यापक रुपमा उल्लंघन गरेका छन । आचारसंहिता विपरित बागमति प्रदेश सरकारका वन तथा वातावरण मन्त्री तथा माओवादी नेता विशाल खड्काले स्वास्थ्य शिविर कार्यक्रममा सहभागी भई राहत सामग्री समेत वितरण गरी आचार संहिताको धज्जी उडाउनु भएको छ ।
वन मन्त्री खड्काले जिरी नगरपालिका वडा नम्बर ८ राम्बोले गत कार्तिक २० गते आयोजना गरिएको संस्कृति जर्गेनाका लागि धामी झाँक्री सम्मान कार्यक्रम र जिरी आपतकालिन राहत कोष वितरण र स्वास्थ्य शिविर कार्यक्रममा सहभागी भई गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरी राहत समेत वितरण गर्नुभएको हो ।
साथै गठबन्धनका तर्फबाट जिल्लाका विभिन्न् सार्वजनिक स्थलहरुमा व्यानर राख्ने, गेट निर्माण गरी प्रचार सामग्री झुण्ड्याउने, पार्टीको लोगो भएको प्रचार सामाग्रीहरु वितरण, उम्मेद्धवारको फोटो अंकित लकेट वितरण गर्ने लगायतका कार्यहरु गरी निर्वाचन आचारसंहिताको ब्यापक उल्लंघन गरेका छन् ।
यसै गरी गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका लागि दोलखा क बाट उम्मेद्धवार बनेका नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले पनि आचार संहिता उलंघन गर्नुभएको छ । काफ्लेले आफु सहित काँग्रेसको चुनाव चिन्ह अंकित लकेट व्यापक रुपमा वितरण गरी अचार संहिता उलंघन गर्नुभएको हो । साथै काफ्लेले गेट निर्माण गर्ने र ब्यापक रुपमा प्रचार सामग्री टाँस गर्ने कार्य समेत गरेको पाइएको छ ।

नेकपा एमालेका कार्यवाहक उपाध्यक्ष राजेन्द्र मानन्धरले यस्तो गैरकानुनी कामका बारेमा आफूहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताउनुभयो । निर्वाचन आचारसंहिताका विरुद्धमा हुने सबै किसिमका क्रियाकलापको एमाले घोर विरोध गर्दछ मानन्धरले भन्नुभयो । गठबन्धनले यसअघि पनि जनप्रतिनीधी तथा कर्मचारीहरुलाई आफ्नै पालिकामा जिम्मेवारी दिएर आचारसंहिता उल्लंघन गरेको थियो । यसमा आयोगले पत्राचार गरी आइन्दा यस्ता कार्यहरु नदोहोर्याउन चेतावनी दिएको थियो ।
दोलखाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख मुरारी निरौलाले मन्त्री खड्का तथा उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरेको विषयमा उजुरी परेको र समितिमा छलफल भइ स्पष्टिकरण सोध्ने तयारी भैरहेको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्