काठमाडौं, जेठ ५ । सत्तारुढ नेकपा एमालेको बिवाद समाधान सम्बन्धी कार्यदलको बैठक आज पनि बस्दैछ । आज साँझ बस्ने तय गरिएको कार्यदल बैठकमा भोलि हुन गइरहेको बागमति प्रदेशको राष्ट्रियसभा निर्वाचनमा मतदानलगायतका बिषयलाई मुख्य एजेण्डा बनाइएको छ ।
मंगलवार बसेको कार्यदलको पहिलो बैठकले पार्टीमा एकता बिथोलिने र अन्तरबिरोध बढने गरी कुनै पनि गतिबिधि नगर्न पार्टीका नेतादेखि कार्यकर्तासम्मलाई अपिल गर्दै तीन बुँदे निर्णय गरिएको थियो । तर कार्यदलको निर्णय बाहिर आउन नपाउँदै बरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयबाट आपत्तिजनक बिज्ञप्ती जारी भएपछि कार्यदल सदस्यहरु निकै गम्भीर बनेका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले बरावर सदस्य तोकेर कार्यदल गठन गर्नुभएको हो । कार्यदलमा संस्थापन पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल रहनुभएको छ भने नेता नेपालको तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त हुनुहुन्छ । सो कार्यदलले सर्वसम्मत रुपमा निर्णय गरी आफ्नो काम अघि बढाएको बेला पार्टीभित्रै निकै जटिल बन्ने बिषयलाई बिज्ञप्ती जारी गरेपछि आजको बैठकमा बागमति प्रदेशमा भोलि हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउने बिषयमा समेत एजेण्डा बनाइएको छ ।
‘माधव कमरेडको सचिवालयबाट अत्यन्तै गलत काम भयो, यस्तो अपेक्षा गरिएको थिएन,’ कार्यदलका एक सदस्यले जनताटाइम्ससँग भने, ‘नेताका पिएहरु आफूलाई नेता भन्दा माथि ठान्न थाले, यो दुरावस्था आउनुमा तिनै पिएहरुको भुमिका रहेको छ ।’ यसैगरी आजको बैठकमा आचारसंहितालाई अन्तिम रुप दिई केही दिनभित्रै आफ्नो काम सकाउने गरी गृहकार्य भइरहेको र त्यसैलाई मुल आधार बनाएर सहमति खोज्ने प्रयाश हुने बताइएको छ ।
‘आजको बैठकमा राष्ट्रियसभा निर्वाचनको बिषयमा छलफल हुन्छ,’ कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जनताटाइम्ससँग भन्नुभयो । पाण्डेले यसअघि नै निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारलाई जिताउने सार्वजनिक घोषणा गरिसक्नु भएको छ । माधव नेपाल समुहमा रहनुभएका बागमति प्रदेशका केही नेताबाहेक अधिकांशले पार्टीको आधिकारिक उम्मेद्वार थापालाई जिताउने बताए पनि केही नेता भने पराजीत गराई पार्टी एकता नै बिथोल्ने षडयन्त्रमा रहेको पाइएको छ । सोही कारण कार्यदलका सदस्यहरु निकै गम्भीर बन्नुभएको हो ।
एमाले अध्यक्ष ओलीले आजै राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेद्वार थापालाई बिजयी बनाउन सूर्यमा मतदान गर्न सवै मतदाता रहेका प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई अपिल गर्नुभएको छ । अध्यक्ष ओलीले सूर्यमा मतदान नगर्नेलाई पार्टीले क्षमा नदिने पनि प्रष्ट पार्नुभएको छ । आजको कार्यदल बैठकमा माधव समुहमा रहेका केही अराजक र माओवादीतिर बिलय हुन चाहने ‘नेताका पिए’ हरुलाई समेत उचित जवाफ दिने गरी निर्णय लिने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्