काठमाडौं, असार २८ । एमाले नेता महेश बस्नेतले राजनीतिको मैदानमा आउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित पाँचै जना न्यायाधीशलाई खुला चुनौति दिनुभएको छ । संबैधानिक कूसहित आएको सर्वोच्च अदालतको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले आज काठमाडौंको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै बस्नेतले यस्तो चुनौती दिनुभएको हो ।
उहाँले न्यायलयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संबैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौति दिनुभयो । नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायालयलाई अर्को राजनीतिक संस्था बनाएको बस्नेतले भनाई छ । उहाँले प्रधानन्यायाधीश आफू प्रधानमन्त्री बन्न्ने योजना साथ फैसला गरेको आरोप पनि लगाउनुभयो ।
‘आज सर्वोच्च अदालतले फैसला गर्यो रे नेकपा एमालेले व्हीप जारी गर्न पाउँदैन । नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउदैन । सर्वोच्च अदालतले आज आफुलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ? म चोलेन्द्र शमशेरलाई चुनौति दिन चाहन्छु, नेकपा एमालेमा आउनुहोस् तपाई एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस । नयाँ दल गठन गरेर आउने कुरा त तपाईका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न,’ बस्नेतले भन्नुभयो, ‘तपाई अहिले देउवालाई प्रधानमन्त्री बनाउने, विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर प्रधानमन्त्री बन्ने डिजाईनका साथ यो फैसला गर्न तपाई तयार हुनुभयो । हामी यो फैसलालाई कुनै मानेमा स्वीकार गर्दैनौं ।’
बस्नेतले सर्वाेच्चले मुलुकलाई गम्भीर संकटतर्फ धकेलेको आरोप पनि लगाउनु भयो । ‘अब मुलुक द्धन्द्धमा प्रवेश गरेको छ । सर्वाेच्च अदालतको फैसलाले राजनीतिक मुद्दा समाधान गर्ने, राजनीतिक द्धन्द्धलाई समाधान गर्ने, राजनीतिक मुद्दा व्युँताउने र द्धन्द्ध जगाउने फैसला आम जनताले मान्नेवाला छैनन,’ बस्नेतले भन्नुभयो । २०५२ सालदेखि नै नेपालको राजनीतिक द्धन्द्धमा फसेको, सांसद किनबेच सुरु भएको भन्दै उहाँले अदालतको फैसलाले फेरी राजनीति द्धन्द्ध, विकृति, विसंगतीमा फसाएको बताउनु भयो ।
नेकपा एमालेका २३ जना सांसदको आडमा निरंकुश र बैदेशिक प्रतिक्रियावादीहरुको षडयन्त्रमा अदालतको फैसला आएको दाबी पनि उहाँले गर्नुभयो । शेरबहादुर देउवासंग १ सय २१ भन्दा बढी भोट नभएको भन्दै १ सय ३८ भोट चाहिनेमा १ सय २१ भोट भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सर्वोच्चले कार्यपालिका र व्यवस्थापिका, संबैधानिक निकायहरुको अधिकार उपयोग गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो ।
‘चोलेन्द्र शम्शेरजी, जहानिया राणा शासन सकियो । तपाईको थर राणा हो । तपाईमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन । अब तपाई फेरि अर्को चुनावी सरकार अबनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईको सपना नजन्मदै तुहिने छ,’ बस्नेतको भनाई थियो । उहाँले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराएको ठोकुवा पनि गर्नुभयो । संबैधानिक इजलाश गठन हुने बेलादेखि नै आफूहरुलाई शंका लागेको भन्दै पूर्वमन्त्रीसमेत रहनुभएका एमाले नेता बस्नेतले अदालतको फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको ठोकुवा गर्नुभयो ।
बस्नेतले भन्नुभयो, ‘रमण श्रेष्ठ र शम्भु थापाहरुको संबैधानिक इजलासले गरेको फैसला हो । यो चोलेन्द्र शम्शेरले गरेको फैसला होइन । एउटा भनाई छ, कांक्रो चोरेर चोरले आफू खान्छ अनि वियाँ साथीको मुखतिर दल्दिएर भन्छ काक्रो उसले चोरेर खायो । निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमासर्वोच्च अदालतलाई आज घाँस खुवाएर जुन फैसला गरेका छन् । उनीहरुले नयाँ खिलराज रेग्मी जन्माउने डिजाईनका साथ यो फैसला आएको छ ।’
प्रतिक्रिया दिनुहोस्