जनता टाइम्स

११ आश्विन २०७८, सोमबार २१:३३

उपत्यकामा तीनको शङ्कास्पद मृत्यु


काठमाडौँ, ११ असोज । काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन् ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् । पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उता ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन् । उनको टाउँको र घाटीमा धारिलो हतियारको चोट रहेको जनाइएको छ । तीनैवटा घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रित लागुऔषधसहित पक्राउ

यसैबीच काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४५९ एम्पुल नाइट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका–७ बस्ने २१ वर्षीय युवराज लाखेलाई आज प्रहरीले पक्राउ गरेको छ । विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ९५५ नम्बरको बस जाँच गर्नै क्रममा प्रहरीले लागुऔषध फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।