जनता टाइम्स

११ आश्विन २०७८, सोमबार २१:३७

विवाह अस्वीकारपछि पुष्पाको हत्या भएको आशंका


काठमाडौं, असोज ११ । शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो ।

हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । उहाँका अनुसार आइतबार पक्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको हत्या गरेको स्वीकार गरेका छन् ।

“पक्राउ परेका कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका छन्, प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानबाट योजनाबद्ध ढङ्गले हत्या भएको देखिन्छ”, प्रनाउ राणाले भन्नुभयो । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको राणाले बताउनुभएको छ ।

विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध भएको तर विवाहको प्रस्ताव भने अस्वीकार गरेपछि विवाद हुँदा आफूले हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । विवादपश्चात टाउकोमा ढुङ्गाले प्रहार गरेको र त्यसपछि जबरजस्ती विषादी खुवाई भीरबाट धकेलेर झारेको कार्कीले बयान दिएका छन् ।

फक्ताङलुङ गाउँपालिका–३ भर भई सदरमुकाममा डेरा गरी बस्दै आएकी पुष्पा तबेबुङ ९लिम्बू० भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनको शव फुङलिङ नगरपालिका–७ स्थित चारपाटेदेखि फुङलिङ बजार आउने जाने गोरेटो बाटोभन्दा २५ फिटमुनि फेला परेको थियो ।