जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १२:३४

अदालतमा बहश गर्ने वकिलले अर्कै धन्दा चलाएपछि


चितवन, असोज १२ । अदालतमा बहश गर्ने कानुन ब्यवसायीले आफ्नो पेशाभन्दा बाहिर गएर अर्कै धन्दा चलाएपछि प्रहरीको चिसो छिडीमा बास भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको हो । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनाअनुसार प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आठ जनासँग जनही रु तीन लाख रुपैयाँ माग गरेपछि उनीविरुद्ध जाहेरी परेको थियो । सोपश्चात देवकोटालाई पक्राउ गरिएको हो ।

‘राहुल गुप्तासमेतका आठ जनाले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको हुँदा निजलाई समेत कारबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो,’ सूचनामा भनिएको छ । प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।