बीरगञ्ज, असोज १३ । पर्साका प्रहरीले प्रहरी कार्यालयमा सम्बन्धित व्यक्तिको कामका लागि आवश्यक व्यक्तिबाहेक बिचौलियाका रूपमा आउनेलाई जोकसैलाई पनि कार्यालयबाट बाहिर धपाउने अभियान अघि बढाएको छ । प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बिचौलियामुक्त अभियान चलाउँदै आउनुभएको छ ।
सर्वसाधारण र प्रहरीबीचको सम्बन्धलाई थप सुमधुर पार्ने र सामान्य व्यक्तिसमेत आफ्नो आवश्यकताअनुसार कामको सिलसिलामा प्रहरी कार्यालयसम्म स्वयं पुग्न सकोस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक पाण्डेले बिचौलिया धपाउने अभियान चलाउँदै आउनुभएको हो । सम्बन्धित व्यक्ति सो कार्यमा आवश्यक अन्य व्यक्तिबाहेक कार्यालयमा आउने अन्य बिचौलियाका रूपमा सक्रिय जो कसैलाई पनि प्रहरी उपरीक्षक पाण्डेले सकभर कार्यालय प्रवेशमा समेत रोक लगाउँदै आउनुभएको छ ।
सम्बन्धित व्यक्ति र सो काममा आवश्यक व्यक्तिबाहेक विभिन्न बहानामा पीडित पक्षसँग आफू प्रहरी कार्यालय पुगी काम गराइदिन्छु भन्ने खालाका बिचौलिया प्रवृत्तिका व्यक्तिलाई निरुत्साहित पार्दै आएको प्रहरी उपरीक्षक पाण्डेलले बताउनुभयो । ‘विभिन्न कार्यको सिलसिलामा प्रहरी कार्यालय आउने सर्वसाधारणलाई सकभर प्रहरीले पारदर्शीरूपमा काम गर्छ चिनजान साथै दबाब तथा प्रभावका आधारमा हुँदैन, कानुनबमोजिम न्याय पाइन्छ भन्ने आम नागरिकलाई विश्वास दिलाउन सकभर बिचौलियालाई प्रोत्साहन दिएको छैन’, उहाँले भन्नुभयो ।
प्रहरी उपरीक्षक पाण्डेले आफू मात्र होइन जिल्ला प्रहरी कार्यालय पर्सामातहतका सबै प्रहरी युनिटमा सकभर जनताको काम बिचौलियाको भरमा नभई कानुनका आधारमा सामान्यभन्दा सामान्य व्यक्तिले सोझै प्रहरीको सेवा लिन सकुन् भन्ने उद्देश्यले निर्देशन दिएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्