जनता टाइम्स

१३ आश्विन २०७८, बुधबार १८:४५

आर्यघाट पुग्दामात्रै पद छाड्ने शैली फेरेर अघि बढ्नुको विकल्प छैन : नेता सिंह


काठमाडौं, असोज १३ । कांग्रेस नेता प्रकाशमान सिहंले नेपाली राजनीतिमा नेतृत्वले आर्यघाट पुग्दामात्रै पद छाड्ने चरित्र हाबी भएको भन्दै त्यस्तो शैली फेरिनुपर्ने बताउनुभएको छ । उहाँले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताउनुभएको हो । सिंहले पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्क समेत गर्नुभयो ।

त्यस्तै जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न आफूले आग्रह गरिरहेको पनि सुनाउनुभयो । ‘राजनीतिमा पनि अन्य क्षेत्रको जस्तै निश्चित समयपछि अवकाश हुनुपर्छ । आर्यघाट पुग्दामात्रै पद छाड्ने शैली ठीक छैन, यो फेरिनुपर्छ,’ नेता सिंहले भन्नुभयो, ‘आर्यघाटसम्मै पदमा बस्ने राजनीतिक चरित्रका कारण आम जनतामा राजनीतिप्रति निराशा छाएको छ ।’

कोटेश्वरमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसकोे मौलिक सिद्धान्त बचाईराख्न महाधिवेशनबाट नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभयो । ‘बहुदल आएपछि कांग्रेसमात्रै होइन, सबै पार्टीमा निश्चित नेताहरुले कब्जा जमाए । एउटै व्यक्तिले पटक–पटकसम्म पार्टीको नेतृत्व हडपेर बस्ने कुरा राम्रो होइन,’ उहाँले थप्नुभयो, ‘एउटा निश्चित समयपछि राजनीतिबाट पनि अवकाश हुने अभ्यास गर्नुपर्छ ।’

उहाँले आफू नेतृत्व परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको बताउनुभयो । ‘अहिले नयाँ पुस्ता नेतृत्वका लागि तयार भइसक्यो । हामीले नै पार्टीको नेतृत्व गर्न पाएका छैनौँ । एउटै मान्छेले लामो समयसम्म पार्टीलाई कब्जा गरेर राख्ने कुरा ठीक होइन,’ उहाँले भन्नुभयो, ‘म यसपटक पुस्तान्तरणको पक्षमा छु ।’

उहाँले महाधिवेशनमा अनेकथरी आश्वासन र प्रलोभन देखाउने सम्भावना रहेको भन्दै त्यस्ता प्रलोभनमा नपर्न समेत आग्रह गर्नुभयो । गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरुले आफूलाई गाली गर्ने गरेको उहाँको भनाई थियो । नेता सिंहले पार्टीको आसन्न महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरुलाई ध्यान दिन आग्रह गर्नुभयो ।