प्योङयाङ, १४ असोज । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग सीधा सञ्चार सम्पर्क गर्न हटलाईन सेवा सुरु गर्न लागेको बताउनुभएको छ । उत्तरले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको बताइरहेका बेला किमले हटलाईन सेवा सुरु गर्न लागेको बताउनुभएको हो । प्योङयाङको वार्षिक संसद अधिवेशनलाई सम्बोधनका क्रममा उनले दक्षिणसँग पुनः हटलाईन सेवा गर्ने बताउनुभएको हो ।
कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको बिरोधमा प्योङयाङले गत अगस्टमा हटलाईन टेलिफोन सेवा बन्द गरेको थियो । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार किम गत अगस्टमा उत्तर र दक्षिण कोरियाबीचको तिक्ततापूर्ण सम्बन्धपछि बिच्छेद गरिएको हटलाईन सेवा यही अक्टोबरदेखि खुला गर्न चाहन्छन् ।
हटलाईन सेवा खोल्ने वा नखोल्ने भन्ने विषय दक्षिणको रबैयामा भर पर्ने जनाइएको छ । एक साताअघि किमकी वहिनीले प्योङयाङ दक्षिण कोरियासँग वार्ताका लागि तयार भएको बताउनुभएको थियो । तर, त्यसका लागि दक्षिण कोरियाले शत्रुतापूर्ण व्यवहार बन्द गर्नुपर्ने उहाँले बताउनुभएको थियो ।
सम्बोधनका क्रममा किमले अमेरिकाले ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरी वार्ताका लागि प्रस्ताव गरेको आरोप लगाउनुभयो । ‘अमेरिकाले कूटनीतिक सम्बन्धवारे बारम्बार प्रचार गर्छ । तर, यो अन्तर्राष्ट्रिय समुदायलाई धोका दिने एउटा षडयन्त्र हो । अमेरिकी प्रशासनले वार्ताको बहानमा आफ्ना शत्रुतापूर्ण कार्य तीब्र पार्दै आएको छ ’ उहाँले भन्नुभयो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्