जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १८:०७

सुरु हुँदै गरेको समृद्धिको यात्रामा अवरोध सिर्जना भएको छ : अध्यक्ष ओली



काठमाडौं, १५ असोज । एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आजदेखि सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष ‌ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो ।प्रतिवेदनमा अध्यक्ष ओलीले २०७४ फागुन ३ गते एमालेको नेतृत्वमा सरकार गठन हुँदाको उत्साहपूर्ण वातावरण र परिस्थिति, नयाँ प्रणाली संविधानतः संस्थागत हुँदै गरेको अवस्था, बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार, सुरु हुँदै गरेको समृद्धिको यात्रामा आज अवरोध सिर्जना भएको बताउनुभएको छ ।

उहाँले नयाँ युगतर्फको यात्रा गन्तव्यहीन हुन पुगेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । ‘सरकार बदल्ने मात्रै होइन, पछिल्ला राजनीतिक घटनाहरुको अन्तरनिहित उद्देश्य विगत केही वर्षको अथक प्रयासबाट तयार गरिएको र अगाडि बढाइएको राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धिका उपलब्धिलाई उल्ट्याउने कुरामा केन्द्रित छ’, ओलीले प्रतिवेदनमा भन्नुभएको छ ।

देशलाई पुनः अस्थिरता, अन्योल र द्वन्द्वतिर धकेल्दै राष्ट्रिय एकतालाई कमजोर गर्ने र बाह्य चलखेल बढाउन प्रवृत्त रहेको ओलीको निष्कर्ष छ । उहाँले जनतामा जागेको आत्मविश्वास, भरोसा र आशामाथि तुषारापात गर्दै त्यसै अन्योलभित्र निहित स्वार्थ पूरा गर्ने कुरामा वर्तमान राजनीति केन्द्रित भएको बताउनुभएको छ ।