जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार ०८:११

पिसाव फेरेको भिडियो पोर्न साइटमा, पीडितको मुद्दा न्यायाधीशले गरे खारेज


वार्सिलोना, १६ असोज । स्पेनमा महिला अधिकारवादी समूहका तर्फबाट दायर भएको एउटा मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको छ ।
महिला सार्वजनिक स्थलमा सामूहिक रूपमा पिसाव फेर्न जाँदा गोप्य ढंगले खिचिएको तस्बिर र भिडियोे दुरूपयोग भएपछि अधिकारकर्मीले दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरिदिएका हुन् । शौचालय अभावमा ८० महिला र किशोरीले सार्वजनिक स्थलमा पिसाव गरेको दृश्यलाई गोप्य भिडियो खिचिएको थियो ।

स्पेनको पश्चिमी सहर सेर्भोको स्थानीय मेला ए मारूसियानमा लुकाइएका क्यामेराबाट भिडियो खिचिएको थियो । क्लोज अप गरिएको भिडियोमा महिलाको गुप्तांग र अनुहार देखिन्छ । भिडियोलाई एउटा व्यवसायिक पोर्न वेबसाइटमा राखिएको थियो । आफ्नो भिडियो देखेपछि अधिकांश महिलाले दोषीलाई कारबाहीको माग गर्दै सन् २०२० मा त्यहाँको एउटा अदालतमा मुद्दा दायर गरेका थिए । आफ्नो गोपनियताको अधिकार उल्लंघन भएको र त्यसबारे छानबिन गर्न उनीहरूले माग गरेका थिए ।

तर, वुमन फर इक्विालिटी व्युरोले गरेको मुद्दा न्यायाधीश पाब्लो मुनोज भाजक्युजले खारेज गरिदिएका हुन् । आफ्नो प्रारम्भिक फैसलामा न्यायाधीशले सार्वजनिक स्थलमा भिडियो रेकर्ड भएकोले त्यसलाई अपराध मान्न नसकिने बताएका छन् । भिडियोमा महिलाको शारीरिक तथा नैतिक मर्दन गर्ने कुनै आशय नदेखिएको फैसलामा उल्लेख छ ।

अदालतको फैसला डरलाग्दो भएको पीडितमध्येकी एक महिला जेनिफरले बताइन् । भिडियोलाई पोर्न साइटमा अपलोड गरिएको साथीले सुनाएपछि आफू बिक्षिप्त भएको उनले बताइन् । भिडियो देख्दा आफू लज्जित र आत्मग्लानी भएको अन्य पीडितको गुनासो छ ।भिडियो सार्वजनिक भएपछि जेनिफरजस्तै अन्य पीडितले मनोवैज्ञानिक परामर्श लिएका थिए । अदालतको फैसलाले उनीहरूलाई झन पीडा थपिदिएको छ ।