जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार ११:२४

ओली नेतृत्वको विकल्प कसैले पनि सोचेको छैन : विष्णु रिजाल


काठमाडौं, १६ असोज । नेकपा एमालेका नेता विष्णु रिजालले केपी ओली राष्ट्रिय राजनीतिको मियो भएकाले पार्टीमा उहाँको नेतृत्व अपरिहार्य भएको बताउनुभयो । जारी विधान महाधिवेशनमा ओलीको चर्चा, परिचर्चा र वाहवाही स्वाभाविक भएको दाबी उहाँले गर्नुभयो ।

आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भन्नुभयो , “अहिले राष्ट्रिय राजनीतिमा सबै दल एकातिर छन्, एमाले एक्लै अर्कोतिर उभिएको छ । एमालेको नेतृत्व केपी शर्मा ओलीले गर्नुभएको छ ।त्यसैले ओलीको नेतृत्वको विकल्प कसैले पनि सोचेको छैन । ओलीको नेतृत्व अपरिहार्य छ । पार्टी एकीकृत या सहज अवस्थामा भएको भए पर्याप्त विकल्प थिए । छनोटको विकल्प पनि आउँथ्यो । अहिलेको अवस्थामा अरु नेतालाई मान्ने कुरा छैन । उहाँलाई चुनौती दिनु भनेको एमालेलाई कमजोर बनाउनु र एकतालाई तितरबितर बनाउनु हो ।” रिजालले नेकपा एमालेको विधान महाधिवेशनमा ओलीको वाहवाही स्वाभाविक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा एमालेको विधान महाधिवेशन देउवामय प्रचण्डमय, मोहनविक्रममय, सीपी मैनालीमय हुन्न । केपी ओलीकै चर्चा हुन्छ, त्यो स्वभाविक हो ।

किनभने ओली अहिले राष्ट्रिय राजनीतिको मियो हो ।” पार्टीलाई बलियो बनाउने कि नेतालाई बलियो बनाउने भन्ने प्रश्नमा उहाँले भन्नुभयो , “हामी एमालेलाई बलियो बनाउन चाहन्छौं । अहिले पार्टीमा देखिएको संकटलाई ओलीको नेतृत्वमा नै त्यसलाई पार लगाउनुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले आगामी महाधिवेशनमा अध्यक्ष र चुनावपछि प्रधानमन्त्री बनाउने औपचारिक निर्णय त गरेका छैनौं । तर आगामी दिनमा उहाँको विकल्प सोच्न पनि सकिन्न ।” नेता रिजालले एमाले कुनै पनि छिमेकीको पक्ष या विपक्षमा नउभिने बताउनुभयो । “हामी नेपालको हितमा कुरा राख्छौं । कसैलाई कार्डका रुपमा प्रयोग गर्दैनौं ।

सीमा मिच्यो, नाकाबन्दी गर्यो भन्नु भारतको विरोध होइन, हामीलाई चीनमुखी भन्नु निराधार हो , उहाँले भन्नुभयो । हाम्रो राजनीतिक प्रतिवदेनमा एमसीसीको विरोध र समर्थन छैन । तर एउटा देशलाई घेर्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।” नेपाली कांग्रेसलाई निषेध गर्नुपर्छ भन्ने एमालेले नठानेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हुन्छ ।

तर नेपाली कांग्रेसलाई निषेध गर्नुपर्छ भन्ने ठान्दैन ।” उहाले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो “निर्वाचनको विकल्प एमालेले पहिले पनि देखेको थिएन, अहिले पनि देखेको छैन । यो सरकारले नयाँ काम गर्ने भन्दा पनि भत्काउने काम मात्र गरिरहेको छ । न संसद्ले काम गर्न सक्छ, न त सरकारले काम गर्न सक्छ । त्यसैले नयाँ प्रतिनिधिसभा ल्याउनुको विकल्प छैन ।”