जनता टाइम्स

७ असार २०७६, शनिबार १४:५७

प्रधानमन्त्रीको निर्देशनपछि विरामी चौधरीको खुट्टाबाट हट्यो साङ्लो, अमानविय कामको छानविन शुरु


काठमाडौं ।

शुक्रबार अपरान्हदेखी सामाजिक सञ्जालमा टिकापुर हत्याकाण्डमा दोषी ठहर गरिएका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा नेल अर्थात साङ्लो लगाएको फोटो भाइरल भयो । सो फोटोमा उनि अस्पतालको बेडमा पल्टिएको र खुट्टामा साङ्लोले बाधिएको देखिएको थियो ।

सामान्यता कैदीहरुलाई हातमा हत्कडी लगाएर अस्पताल लगिने पनि गरिएको छ । तर, विरामीलाई साङ्लोले नै बाधेर राखेको भन्दै यसको आलोचना हुन थालिरहेको थियो । सो कुरा प्रधानमन्त्री ओलीले थाहा पाएपछि शुक्रबार राति नै मुख्यसचिव लोकदर्श रेग्मीमार्फत सो साङ्लो खोलेर उपचार गर्न निर्देशन दिनुभएको थियो ।

उहाको निर्देशनसँगै शुक्रबार रातिबाटै साङ्लो खोलिएको उहाका भाई मिठुलाल चौधरीले जानकारी दिनुभयो । साथै प्रधानमन्त्रीले अदालतले दोषी ठहर गरिसकेको व्यक्तिले कैदी जिवन विताईरहदा त्यस्तो अमानविय काम कसरी हुन गयो त्यसको छानविन गरी दोषीलाई कारवाही गर्न पनि निर्देशन दिनुभएको छ ।

सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि विहिवार राति वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो नेल नहटाएपछि त्यसको चौतर्फी विरोध भएको थियो। फोक्सो र ढाडमा समस्या देखिएपछि सांसद चौधरीलाई बिहीबार वीर अस्पताल भर्ना गरी उपचार थालिएको थियो । अहिले उहाको उपचार चलिरहेको छ।