जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १४:०९

शेरबहादुर र रामचन्द्रको गुणगान नगाउन प्रकाशमानको अपिल


काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । कांग्रेस काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उहाँले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले विश्राम लिनुपर्ने बताउनुभयो । ‘१३औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि । तर, क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन,’ उहाँले भन्नुभयो,‘अनि किन गुणगान गाउने ?’

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताउनुभयो । आफूले २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताउनुभयो । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको सिंहको आरोप थियो ।

सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाउनुभयो । ‘पार्टी सभापतिकै जिल्लाको अनशन पार्टी अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर वाइपास गरेको छ,’ उहाँले भन्नुभयो,‘देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई वेवास्ता गर्ने ?’ पार्टीको सिद्धान्त, आदर्श र लोकतन्त्रका लागि गरेको संघर्षले कांग्रेसलाई विश्व समुदायमा चिनारी दिएको भन्दै पार्टीको महत्व बुझ्नु आजको आवश्यक्ता भएको सिंहले बताउनुभयो । तर, सिद्धान्तअनुरुप डेलिभेरी हुन नसकेको उहाँको भनाइ थियो ।