जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १५:३१

ताइवानको हवाई क्षेत्रमा ३८ चिनियाँ लडाकु विमानको उडान


काठमाडौं, १६ असोज । ताइवानले आफ्नो हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानले उडान भरेको दाबी गरेको छ । चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा दुई पटक उडान भरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । ताइवानले यो घटनलाई हवाई क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण भनेको छ ।

ताइवानको रक्षा मन्त्रालयका अनुसार चीनका १८जे–१६, चार सुखाइ–३० लडाकु विमान, परमाणु क्षमताका दुई वटा एच-६बम्बर्स र एउटा एन्टी–सबमरिन लडाकु विमान ताइवान सीमा क्षेत्रमा उडान भरेका हुन् । त्यसपछि थप १३ चिनियाँ लडाकु विमानले हवाई सीमामा प्रवेश गरेको ताइवानको दाबी छ ।

तर, यसबारे चिनियाँ पक्षको औपचारिक धारणा आइसकेको छैन । ताइवान चीनले हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप पटक–पटक लगाउँदै आएको छ । खासगरी ताइवान नियन्त्रित दक्षिण–पश्चिमी क्षेत्रको प्रतास द्वीप क्षेत्रमा चीनले हवाई उडान भर्ने गरेको आरोप लाग्दै आएको छ ।