जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १८:०८

फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यासको घोषणा, छोरीलाई अघि सार्ने सम्भावना


काठमाडौं, असोज १६ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँले आउँदो वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन ।

संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा उमेदवार बन्ने बताउनु भएको थियो । तर अहिले भने राजनीतिबाटै सन्यासको घोषणा गर्नुभएको हो । दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आउँदो वर्षको चुनावमा राष्ट्रपति पदका लागि अघि सार्नसक्ने सम्भावना रहेको पनि बीबीसीले जनाएको छ ।

सारा दुतेर्ते कार्पियो यसअघि बुवाकै निर्वाचन क्षेत्र डाभाओको मेयर बन्नुभएको थियो । राष्ट्रपति दुतेर्ते खास सम्प्रदाय तथा धार्मिक समूहलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिने नेताको रुपमा चिनिनुहुन्छ । उहाँको कार्यकालमा हजारौंको न्यायिक हत्या भएको आरोप लाग्ने गरेको छ तर उहाँले भने आफूले लागुऔषध विरुद्धको युद्ध भन्दै आउनुभएको छ ।