जनता टाइम्स

७ असार २०७६, शनिबार १५:४८

सुर्खेतस्थित विमानस्थल ब्यारेकमा पृतनापति ट्रफी खेल प्रतियोगिता


सुर्खेत, असार ७

सुर्खेतस्थित विमानस्थल ब्यारेकमा पृतनापति ट्रफी खेलकूद प्रतियोगिता शुरु भएको छ । यही असार २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स खेलमा उत्तर–पश्चिम पृतनाअन्तर्गतका पाँचवटा गणका ४२३ खेलाडी सहभागी हुँदैछन् ।

एथलेटिक्स र तेक्वान्दोमा २१ महिला खेलाडीले समेत सहभागिता जनाउने बताइएको छ । एथलेटिक्स र बक्सिङ दाङको तुल्सीपुरमा तथा बाँकी खेलहरु सुर्खेतमै सञ्चालन हुने उत्तर–पश्चिम पृतना नेवारे ब्यारेकका सेनानी झपेन्द्रराज वीसीले जानकारी दिनुभयो ।

प्रतियोगिताको आज उद्घाटन गर्दै उपरथी पृतनापति सरोजप्रताप राणाले खेलकूदको माध्यमद्वारा सैनिकहरुमा अनुशासन कायम राख्न, सामूहिक भावना, भातृत्व, आपसी सहयोगको भावना विकास गर्न मद्दत पुग्ने बताउनुभयो । केन्द्रीयस्तरमा सञ्चालन हुने प्रधानसेनापति ट्रफीको पूर्व तयारी तथा छनौट चरणका रुपमा यस प्रतियोगितालाई लिने गरिन्छ ।