जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १८:२९

देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ताबीच झडप, देउवा पक्षले कोइरालालाई देखायो कालोझन्डा


धनगढी, असोज १७ । डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस केन्द्रीय नेता अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेको कार्यक्रममा कार्यकर्ताबीच झडप भएको हो । कांग्रेस डडेल्धुरामा एकलौटी गरिएको वडा अधिवेशन स्थगित गरिनुपर्ने माग राख्दै सभापति कर्ण मल्ल समूहद्वारा विगत ११ दिनदेखि अनशन थालिएको थियो । अनशनमा ऐक्यबद्धता जनाउन केन्द्रीय सदस्यत्रय केसी, कोइराला र घिमिरे आज डडेल्धुरा पुग्नुभएको थियो ।

कार्यक्रमलाई संस्थापन (देउवा) पक्षले बिथोल्न खोज्दा झडप भएको बुझिएको छ । कार्यक्रममा देउवा पक्षले कालोझण्डा देखाउन खोज्दा कर्ण मल्ल पक्षले प्रतिकार गर्दा झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी आधा दर्जन बढी कांग्रेसका कार्यकर्ता घाइते भएका छन् । प्रहरीले दुवै पक्षलाई तितरवितर पारेपछि अवस्था सामान्य रहेको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताउनुभयो । उहाँकाअनुसार अनशन स्थलमा कार्यक्रम सकेर नेताहरु डडेल्धुराकै होटलमा बस्नुभएको छ ।

यसैबीच डडेल्धुरामा वडा अधिवेशन पुनःगरिनु पर्ने र क्रियाशील सदस्यता वितरणमा छानविन हुनुपर्ने माग राख्दै विगत ११ दिनदेखि अनसनमा बसेका कांग्रेस नेताहरुले आजदेखि अनसन स्थगित गरेका छन् । केन्द्रबाट आउनुभएको डा. कोइरालालगायतका नेताले डडेल्धुराको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि अनशन स्थगित गरिएको कांग्रेस डडेल्धुराका उप सभापति करुणकर भट्टले बताउनुभयो । त्यस्तै कार्यक्रममा डा. कोइरालाले कांग्रेसले कालो झन्डा देखाउनेलाई पनि स्वागत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले केही साथीहरुले कालोझन्डा देखाउनुभयो । कालोझन्डासित कांग्रेसका कोही नेता, कार्यकर्ता डराउँदैनन् । कांग्रेस पार्टी भएकोले कालोझन्डा देखाउनेहरुलाई पनि हामीले स्वागत गर्न सक्नुपर्छ ।’ यसअघि डडेलधुरामा २५ भदौमा देउवा पक्षले वडा अधिवेशन गराएको थियो । तर, जिल्ला सभापति कर्णबहादुर मल्लले भने जिल्लाबाट विधानबमोजिम सिफारिस गरी पठाएका ४६० जना क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट नयाँ सदस्य थप गरिएको भन्दै वडा अधिवेशन बहिष्कार गर्नुभएको थियो ।