जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १९:४७

अनियमितता भएको भन्दै विद्यालयमा तालाबन्दी


बैतडी, १७ असोज । बैतडीको सुर्नया गाउँपालिकाऔ २ सिउडेस्थित नेपाल राष्ट्रिय मावि ग्वानीमा तालाबन्दी गरिएको छ । सो विद्यालयको मल्टिपल भवन निर्माणमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रिएको संघर्ष समिति र विद्यालयलाई सामग्री दिएर पनि पैसा भुक्तानी नपाएका व्यापारीहरूले आज तालाबन्दी गरेका हुन् ।

३६ लाख रुपैयाँको लागतमा विद्यालयमा मल्टिपल भवन निर्माण गर्ने स्टिमेट गरिएको भए पनि ४८ लाख रुपैयाँ खर्च हुँदासमेत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भइसकेको छैन । विद्यालयको भवन निर्माण गर्दा व्यापारीहरूबाट विभिन्न सामग्री खरिद गरेको भए पनि सोबापतको पैसा भुक्तानी नहुँदा व्यापारीहरूले स्थानीय प्रशासनमा उजुरीसमेत दिएका थिए ।

आफूहरूको उजुरीका विषयमा अहिलेसम्म कुनै सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिएको व्यापारीहरूले बताएका छन् । केही दिन पहिला स्थानीयले संघर्ष समिति गठन गर्दै माग पूरा गर्न आग्रह गरेका थिए । विद्यालय भवन निर्माणमा भएको अनियमितता छानबिन हुनुपर्ने, व्यापारीहरूको रकम तिर्नुपर्नेलगायतका माग राखेका भए पनि अहिलेसम्म माग पूरा नभएकाले विद्यालयमा तालाबन्दी गरिएको संघर्ष समितिका सदस्य धनबहादुर बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो,‘माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहन्छ । विद्यालय भवन निर्माणमा भएको अनियमितताको छानबिन नहुँदासम्म हाम्रो संघर्ष जारी रहन्छ ।’

विद्यालय व्यवस्थपन समिति सदस्य डम्मरबहादुर बिष्टको अध्यक्षतमा निर्माण समिति गठन गरेर विद्यालय भवन निर्माणको काम अघि बढाएको थियो । कोरोनाका कारण विभिन्न सामग्रीको मूल्य बढेकाले भवन निर्माणमा बढी लागत लागेको समितिले बताउँदै आएको छ । तर, स्थानीयहरूले भने विद्यालय भवन निर्माणमा अनियमितता भएको आरोप लगाउँदै आएका छन् ।

सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन् । विद्यालय व्यवस्थापन समितिले समेत सो विषयमा चासो नदिएको स्थानीयहरूको आरोप छ । नेपाल राष्ट्रिय मावि ग्वानीमा केही दिन पहिला पनि अज्ञात समूहले तालाबन्दी गरेको थियो । सो तालाबन्दी बिहीबार मात्र खुलाएको थियो भने फेरि आजदेखि विद्यालयमा तालाबन्दी भएको छ ।