जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार २३:०९

यी हुन ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गर्ने नेपाली (सूचीसहित)


गुण ग्रुपका राजेन्द्र शाक्यको अफशोर कारोबार : ब्रिटिश भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका शाक्यले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गर्नुभएको छ । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिनु भएका शाक्यको कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रष्ट हो ।

शाक्य गुण ग्रुपका अध्यक्ष हुनुहुन्छ । यो ग्रुपमार्फत घरजग्गा, सहकारी तथा गुण एअरलाइन्समा समेत लगानी छ । उहाँ एक दशकअघि ठूलो आर्थिक संकटमा पर्नुभएको थियो । ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा समेत परेका शाक्यको लगानी रहेको गुण सहकारीले तीन करोड ठगी गरेको भन्दै उजुरी परेको थियो । जुन रकम अहिलेसम्म निक्षेपकर्तालाई फिर्ता भएको छैन ।

अफशोर लगानीमा संलग्न शाक्यसँग टेलिफोन सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउनुचएन । अफशोर लगानीबारेमा पठाइएको सन्देशको पनि उहाँले प्रतिक्रिया दिनुभएन ।

सुहृदराज घिमिरे र पुरुषोत्तम पौडेलको संलग्नता

नेपालमा किया गाडीका बिक्रेता सुहृदराज घिमिरे र उहाँका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलको पनि ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी भेटिएको छ । घिमिरे नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष हुन् । पौडेल सोही कम्पनीका कार्यकारी निर्देशक हुन् ।

घिमिरे र पौडेलले सन् २००९ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको हो । यी दुवै जना कम्पनीका लगानीकर्तासँगै निर्देशक पदमा समेत रहेको आईसीआईजेका कागजातहरूले देखाउँछ । उहाँहरूले कम्पनी खोल्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गर्नुभएको छ । घिमिरेले एक अमेरिकी डलरका दरले तीन कित्ता र पौडेलले एक डलरका दरले एक कित्ता शेयर खरीद गरेर यो कम्पनी खोल्नुभएको हो ।

‘द बीभीआई बिजनेस कम्पनी एक्ट, २००४’ ले यो कम्पनीलाई एक डलरका दरले अधिकतम ५० हजार कित्ता शेयर जारी गर्न सक्ने अधिकार दिएको छ । यो कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी हो । सन् २००९ मा नेराइन ट्रष्ट कम्पनी एजेन्ट रहेको यसले सन् २०१० मा एजेन्ट परिवर्तन गरी ओभरसिज मार्फत काम गर्न थालेको हो । यसरी एजेन्ट परिवर्तन गरिदिने काम सिंगापुरको ‘एक्सप्रेस को रजिष्ट्रेसन एण्ड म्यानेजमेन्ट पिटिई लिमिटेड’ले गरिदिएको देखिन्छ ।

घिमिरे र उहाँका साझेदार काठमाडौं कपनका पौडेल नेपालको चर्चित ‘ललिता निवास जग्गा प्रकरण’मा समेत जोडिनुभएको व्यक्ति हुनुहुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा दायर गरेको आरोप–पत्रमा उल्लेख भए अनुसार पौडेल र घिमिरेकी सासू इन्दु शर्माको नाममा बालुवाटारस्थित ललिता निवास परिसरमा जग्गा छ ।

यसमध्ये ७६३.११ वर्ग मिटर सरकारी जग्गा पौडेलको नाममा कायम भएको छ । डिल्लीबजार मालपोत कार्यालयको अभिलेख अनुसार, १२ आना जग्गा १३ मंसीर २०६३ मा घिमिरेकी सासू इन्दु शर्माको नाममा राजीनामा पास भएको छ । उहाँहरू विरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । सन् २०१३ मा आईसीआईजेले नै गरेको अफशोर लिक्समा समेत घिमेरेको नाम समावेश थियो । त्यतिवेला सार्वजनिक भएको विवरण अनुसार घिमिरेको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा इको बे लिमिटेड नामक कम्पनी छ । पुरुषोत्तम पौडेल पनि उक्त कम्पनीका लगानीकर्ता हुन् ।

अफशोर लगानीमा संलग्न घिमिरे र पौडेललाई टेलिफोन मार्फत सम्पर्क गर्न खोज्दा उहाँहरु सम्पर्कमा आउन चाहनुभएन । हामीले पठाएको टेलिफोन सन्देशको पनि उहाँहरुले कुनै प्रतिक्रिया दिनुभएन ।

सुधीर मित्तलको अफशोर कारोबार

नेपालको पुरानो एअरलाइन्स कम्पनी ‘श्री एअरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । ज्ञानेश्वर काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिश भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको भेटिएको छ । प्राप्त कागजात अनुसार मित्तल यो कम्पनीको लाभार्थी मालिक हुन र उहाँले कम्पनीका नाममा बैंक खाता पनि खोल्नुभएको छ । उहाँले कम्पनीको सम्पत्तिको उत्तराधिकारी पनि आफैं रहेको कागजातहरू पेश गर्नुभएको छ । पेगाससको निर्देशक कम्पनी साइप्रसको ज्यासिनार लिमिटेड रहेको देखिन्छ ।

उहाँले सन् २००६ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ग्रिफन एसेट होल्डिङ्स लिमिटेड नामक अर्को कम्पनीमा पनि लगानी गरेको भेटिएको छ । उहाँ यो कम्पनीमा लाभार्थी मालिक रहेको कागजातहरूले देखाउँछन् । उहाँले कम्पनीमा लगानी गर्नका लागि आफ्नो बसाइ युएईमा रहेको उल्लेख गर्नुभएको छ । यो कम्पनीमा उहाँकै परिवारका सदस्य भारतीय नागरिक अदिती गुप्ता मित्तल, अमेरिकी नागरिक अनन्या मित्तल र दिभान्स मित्तल पनि लाभार्थी छन् ।

यो कम्पनी दर्ताको काम गरिदिने एजेन्ट कम्पनी ट्राइडेन्ट ट्रष्ट (मरिसस) लिमिटेड हो । ग्रिफनको शेयर होल्डर द एल्केमी ट्रष्टले यो कम्पनीमा प्रतिकित्ता एक डलरका दरले ५० हजार कित्ता शेयर लगानी गरेको छ । सन् २०१६ देखि कम्पनीको निर्देशकमा ब्रिटिश भर्जिन आइल्याण्डको ब्लुस्फेयर लिमिटेड रहेको देखिन्छ ।

सुधीरले द एल्केमीबाट दुई लाख अमेरिकी डलर रकम आफू सहित आफ्नो परिवारका सदस्यको लगानी रहेको ग्रिफनको खातामा सारेको भेटिएको छ । यो काममा नेपालको गोर्खा ठेगाना भएका र पेशाले अकाउन्टेन्ट अशोक रेग्मी साक्षी देखिन्छन् ।

मित्तललाई उहाँको कारोबारबारे सोध्न फोन सम्पर्क गर्दा उहाँले भेटेर मात्रै कुराकानी गर्ने बताए । त्यसपछि भने उहाँले फोन उठाएनन् । अर्को दिन आफैं म्यासेज पठाएका उहाँले ‘आफु २५ वर्षसम्म नेपालमा नबसेको र बुवाको मृत्युपछि मात्र नेपाल फर्किएको’ बताए । तर आफ्नो अफशोर लगानीबारे प्रतिक्रिया दिन चाहेनन् ।

किशोर राना : शंकास्पद कारोबार मार्फत अर्बका मालिक

नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झन्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शंकास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ । प्यान्डोरा लिक्समा समावेश विवरणअनुसार सन् २०१७ मा थाइल्याण्डको सुकुम्भित रोडमा बस्दै आउनु भएका रानाले कर्ण इन्भेष्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन् ।

उहाँले क्रिप्टो करेन्सी बिक्री गरेर आएको रकमले कर्ण इन्भेष्टमेन्ट कम्पनी खोल्ने प्रयास पनि गरेका थिए । सिंगापुरस्थित ल फर्म एशियासिटी ट्रष्टका कर्मचारीहरूले एकआपसमा गरेको इमेल आदानप्रदान विवरण अनुसार उक्त काम मापदण्ड भन्दा बाहिरको थियो । तर किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ जुलाई २०१७ मा हङकङमा कर्ण इन्भेष्टमेन्ट नामक कम्पनी खोल्न सफल हुनुभयो । किशोरको यो कम्पनीको सचिव कम्पनी हङकङस्थित एटीजी सेक्रेटरिज् लिमिटेड हो ।

३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्यांक स्टेटमेन्ट अनुसार उहाँको क्यानडाको इल्डोराडो गोल्ड कर्पोरेसनमा पनि ६००२९.४ अमेरिकी डलर मूल्य बराबरको २० हजार कित्ता शेयर लगानी छ । इल्डोराडोले अमेरिका, युरोप र एशिया क्षेत्रका विभिन्न खानीहरूमा लगानी तथा कारोबार गर्छ ।

क्यानडाको गोल्ड स्ट्यान्डर्ड भेन्चर कर्पमा पनि राणाले ९० हजार २०० कित्ता शेयर लगानी गरेका छन् । उक्त ब्यांक स्टेटमेन्ट अनुसार उहाँले तत्कालीन मूल्य अनुसार प्रति कित्ता २.३२९६२ अमेरिकी डलरका दरले २ लाख १० हजार १३१.७२४ अमेरिकी मूल्य बराबरको शेयर खरीद गर्नुभएको छ ।

यस्तै क्यानडाको तान्जनिया रोयल्टी एक्स्प्लोरेसनमा एक लाख कित्ता शेयर लगानी गर्नुभएको पाइएको छ । उहाँले प्रतिशेयर ०.४८०६८ सेन्टका दरले उक्त संख्याको शेयर कुल ४८ हजार ६८ अमेरिकी डलर रकममा लगानी गर्नुभएको छ । यो मिनरल तथा सुन खानी सञ्चालन गर्ने कम्पनी हो ।

उहाँले क्यानडाको बोन्टेरा रिसोर्सेज् इंक कम्पनीमा पनि दुई लाख कित्ता शेयर लगानी गर्नुभएको छ । प्रतिकित्ता ०.३२०६६ क्यानेडियन डलरमा कुल ६४ हजार १३२ क्यानेडियन डलर मूल्य बराबरको शेयर खरीद गर्नुभएको हो । बोन्टेरा कम्पनीले विभिन्न मुलुकमा सुन खानी सञ्चालन गरिरहेको छ ।

क्यानडाको इन्टिग्रा गोल्ड कर्पोरेसनमा पनि उहाँले एक लाख ५० हजार कित्ता शेयर लगानी गर्नुभएको छ । उहाँले प्रतिशेयर ०.७७९९२ क्यानेडियन डलरका दरले उक्त कम्पनीमा एक लाख १६ हजार ९८८ क्यानेडियन डलर लगानी गर्नुभएको हो । इन्टिग्राले सुन उत्पादनको काम गर्दै आएको छ ।

क्यानडाकै ओर्का गोल्ड इंकमा पनि उहाँले प्रतिकित्ता ०.४३६७९ क्यानेडियन डलरका दरले १ लाख ७ हजार ५०० कित्ता शेयर ४६ हजार ९५४.९२५ क्यानेडियन डलरमा खरीद गर्नुभएको छ । यो कम्पनीले पूर्वी अफ्रिकामा सुन खानीहरू सञ्चालन गरिरहेको छ ।

क्यानडाको प्योर गोल्ड माइनिङ इंक नामक अर्को सुन खानी सञ्चालन गर्ने कम्पनीमा पनि उहाँले ६० हजार कित्ता शेयर लगानी गर्नुभएको छ । रानाले उक्त कम्पनीमा प्रतिकित्ता ०.६८३०५ क्यानेडियन डलरका दरले कुल ४० हजार ९८३ मूल्य बराबरको शेयर खरीद गरेको पाइएको हो । यो विश्वकै सबैभन्दा ठूलो सुन खानी सञ्चालन गर्ने कम्पनीमा पर्छ ।

किशोरले ३ फेब्रुअरी २०१७ मा क्यानडाको क्यामेको कर्पोरेसनमा १० हजार कित्ता शेयर लगानी गरेको पाइएको छ । यो विश्वकै ठूलो युरेनियमको व्यापार गर्ने कम्पनी हो । यो सबै विवरण ३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्यांक स्टेटमेन्टबाट देखिएको हो ।

सोही ब्यांक स्टेटमेन्टअनुसार रानाले अमेरिकाको युरेनियम रिसोर्सेज् इंकमा ३० हजार कित्ता शेयर लगानी गरेका छन् । उहाँले प्रतिकित्ता १.९८७६० अमेरिकी डलरका दरले ५९ हजार ६२८ अमेरिकी डलर मूल्य बराबरको शेयर खरीद गरेको सम्बद्ध कागजातले देखाउँछ ।

थाइल्याण्डको सुकुम्भित रोडमा समेत बस्ने उहाँको अर्को मुकाम सिंगापुर पनि हो । सिंगापुरको कम्पनी दर्ता गर्ने एजेन्टको कार्यालयमा पेश गरेको विवरण अनुसार उहाँ त्यहाँका गैरआवासीय नागरिक हुन् । उहाँको कम्पनी कर्ण इन्भेष्टमेन्ट हङकङमा दर्ता भएकाले उहाँ त्यहाँ पनि बस्ने गरेका छन् । यसअघि आईसीआईजे र नेपालस्थित खोपकेले गरेको खुलासामा पनि रानाको नाम उल्लेख थियो ।

“आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा पनि नेपाली नागरिक किशोर रानाको नाम थियो” सन् २०१९ मा खोपकेले गरेको नेपालिक्स खुलासामा भनिएको छ, “इचंगु काठमाडौं ठेगाना उल्लेख भएका रानाले ट्याक्स हेभन मुलुक माल्टामा सेलेस्टियल इन्भेष्टमेन्टस लिमिटेड कम्पनीमा लगानी गरेका छन् । माल्टास्थित कम्पनीको पूरै शेयर उहाँको नाममा छ ।”

रानाले भर्चुअल मुद्राको कारोबारका लागि खाता खोल्ने क्रममा बेलायतको बिटस्टाम्प लिमिटेडले लगानीको स्रोत खोज्दै इमेल गरेको विवरणहरू फेला परेको छ । यसमा प्रतिक्रिया दिंदै रानाले कम उमेरमै यसमा लगानी थालेको र उहाँको व्यक्तिगत बचत तथा धेरै ठाउँमा गरेको लगानीको आम्दानी नै यसको स्रोत भएको बताउनु भएको छ । रानाले कर्ण इन्भेष्टमेन्ट लिमिटेडका नाममा सिंगापुरको बैंक अफ सिंगापुरमा पनि भर्चुअल मुद्रा कारोबारका लागि खाता खोल्नुभएको छ । सिंगापुरको युनाइटेड ओभरसिज ब्यांक लिमिटेडले पटक–पटक उहाँको आर्थिक स्रोतबारे प्रश्न गरेको छ ।

किशोरको अथाह मौज्दात

हङकङको युनाइटेड ओभरसिज् ब्यांक लिमिटेडमा रहेको कर्ण इन्भेष्टमेन्ट लिमिटेडको खातामा भएको विवरण अनुसार ३१ जनवरी २०१९ सम्ममा कम्पनीको खातामा २ लाख ४८ हजार ६३१.५९ अमेरिकी डलर जम्मा भएको देखिन्छ । यो मितिसम्ममा कम्पनीको खाताबाट उक्त रकममध्ये ३५ हजार ९८२.३ अमेरिकी डलर निकालेको देखिन्छ । यसबाहेक किशोरको व्यक्तिगत ब्यांक खातामा पनि रकम जम्मा भएको देखिन्छ ।

३१ मे २०१७ मा ब्यांक अफ सिंगापुरले किशोर रानाका नाममा जारी गरेको ब्यांक स्टेटमेन्ट अनुसार उहाँको क्यास, सजिलै क्यासमा रूपान्तरण गर्न सकिने वस्तु (जस्तै सुन वा चाँदी) र अन्य विभिन्न स्रोत बापत गरी कुल झण्डै दुई लाख अमेरिकी डलर बराबरको रकम थियो । ब्यांकको रेकर्ड अनुसार ३१ मे २०१७ सम्ममा उहाँको शेयरमा मात्र ५ लाख ६० हजार २९७.९६ अमेरिकी डलर लगानी भएको देखिन्छ । यसरी विभिन्न स्रोतबाट उहाँले ३१ मे २०१७ सम्ममा कुल ७ लाख ३० हजार ६९० अमेरिकी डलर बराबरको रकम उहाँको खातामा जम्मा गरेको देखिन्छ ।

रानालाई ह्वाट्स एपमार्फत सम्पर्क गरेर उहाँको अफशोर कम्पनीमा लगानी र क्रिप्टोकरेन्सीको कारोबारबारे प्रतिक्रिया माग्दा उहाँले ‘नेपालसँग कुनै कनेक्सन नभएको’ भन्दै प्रतिक्रिया दिन मान्नुभएन ।

को हुन् किशोर ?

किशोर रानाको बायोडेटा अनुसार उहाँले सन् २०१२ मा अमेरिकाको फ्लोरिडास्थित एम्ब्री रिडल एरोनटिकल युनिभर्सिटीबाट एरोनटिकल साइन्समा स्नातक तहको अध्ययन गर्नुभयो । त्यसपछि उडान प्रशिक्षकका रूपमा काम गरेका उहाँ सन् २०१४ मा नेपाल आउनुभएको थियो । परिवारसँग नजिक रहनका लागि उहाँ थाइल्याण्ड गएको विवरण फेला परेको छ । सन् २०१५ मा उहाँले आफ्नो परिवारबाट एक करोड अमेरिकी डलर रकम विरासतमा पाएको बायोडेटामा उल्लेख छ । उहाँ थाइल्याण्डमा ३० लाख अमेरिकी डलर मूल्य बराबरको रियल स्टेट सम्पत्तिको मालिक भएको पनि कागजातमा देखिन्छ ।

सिंगापुरको टौरस वेल्थ एडभाइजर नामक कम्पनीका प्रबन्ध निर्देशक धीरज भर्वानीले एशियासिटीका कर्मचारीलाई इमेल मार्फत पठाएको विवरण अनुसार उहाँले शुरुआतमा स्टार्टअप प्रविधि र विद्युतीय मुद्रामा लगानी गर्नुभएको थियो । किशोरले भर्वानीलाई सिंगापुरको ईएफजी बैंकमा खाता खोल्नका लागि उक्त विवरण पठाएको देखिन्छ । कम्पनीमा के कसरी लगानी गर्ने भन्नेबारेमा परामर्श दिने धीरजसँग किशोर पनि सोही कामको लागि सम्पर्कमा आएको देखिन्छ ।

सराफ परिवारको ट्याक्स हेभनमा दर्जन कम्पनी

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उहाँको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आउनु भएका भारतीय मूलका सराफ, उहाँका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो ।

सराफ नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीको नाममा दर्ता गर्ने, नेपाली स्रोतमाथि अनियमित दोहन गर्ने र गैरकानूनी ढंगले सरकारको शेयर हत्याउने भनेर परिचित छन् ।

मुख्यगरी बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्ने क्रममा दोब्बर भन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ । यो विषयमा संघीय संसद, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन् ।

आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजातले सराफ तथा उहाँको परिवारले अफशोर कारोबार गरी शंकास्पद कारोबार गरेको खुलासा गरेको छ । उहाँ ब्रिटिश भर्जिन आइल्याण्डमा सन् २००० मा स्थापना भएको पिग्नोलो लिमिटेडका लाभार्थी मालिक भएको खुलेको छ । सराफले आफू बस्ने ठेगाना हङकङ उल्लेख गर्नुभएको छ । यो कम्पनी बैंकसँग सम्बन्धित व्यापार गर्ने, बीमा वा पुनर्बीमा कम्पनी सम्बन्धी व्यापार गर्ने, म्युचुअल फन्ड सम्बन्धी व्यवसाय गर्नेलगायत काम गर्ने गरी दर्ता भएको देखिन्छ । यो कम्पनी खोल्न ट्राइडेन्ट ट्रष्टले सहयोग गरेको छ ।

राधेश्याम, उहाँका छोरा उमेश सराफ र श्रीमती रत्ना सराफले मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा द डेभिटा ट्रष्ट नामक कम्पनी खोलेको पाइएको छ । यी तीनै जना यो कम्पनीका लाभार्थी मालिक हुन् । उहाँका अर्का छोरा अरुण सराफले बलिजमै द भरुनिसा ट्रष्ट कम्पनी खोलेका छन् । यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ । उहाँका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उहाँकी श्रीमती रत्ना छन् ।

द डेभिटा ट्रष्ट र द भरुनिसा ट्रष्टमा राधेश्यामका छोराहरूको लगानी रहेको देखिने कागजातहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले ‘कागजातहरूमा भएको विवरण तथा सामग्रीको कुनै जिम्मेवारी नलिने’ भन्दै प्रमाणीकरण गरिदिएको फेला परेको छ ।

अर्थतन्त्र जोगाउनकै लागि विदेशमा लगानी गर्न रोकिएको हो : नारायणप्रसाद पोखरेल, सूचना अधिकारी, नेपाल राष्ट्र बैंक

नेपाली नागरिकलाई विदेशी मुद्रामा विदेशमा लगानी गर्न अनुमतिको व्यवस्था छैन । अनुमति नै नदिएको अवस्थामा उहाँहरुले लगानी गर्नुभएको छ भने, यो विषय प्रहरी, अन्य निकाय र मन्त्रिपरिषद्सम्म जान सक्छ । यदि यस्तो हो भने यसबारे सांसदहरु र प्रहरी प्रशासनलाई जानकारी गराएर अनुसन्धान अघि बढाउनुपर्छ ।

समग्र अर्थतन्त्र जोगाउन नेपाली नागरिकलाई विदेशमा लगानी गर्न रोक लगाइएको हो । आज हामीसँग विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब बराबरको छ । अत्यावश्यक सामान, वस्तु तथा सेवा आयात गर्न विदेशी मुद्रा चाहिन्छ । विदेश पढ्न जाने, गम्भीर रोग लागेर विदेशमा उपचार गराउन जाने नेपालीलाई विदेशी मुद्रा नदिने भन्ने हुँदैन ।

हामीले विभिन्न कालखण्डमा वैदेशिक ऋण लिएका छौं । ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि विदेशी मुद्रा आवश्यक पर्छ । घुम्नका लागि या कामको सिलसिलामा विदेश जानेहरुलाई पनि केही रकम विदेशी मुद्रामा दिइन्छ नै । यसैले हाम्रा लागि विदेशी विनिमय मुद्रा अत्यन्त महत्वपूर्ण छ ।

हामीले विदेशमा लगानी गर्न खुला छाडिदियौं वा स्वदेशी पुँजीलाई अफसोर कम्पनीमा लगानी गर्न दियौं भने हाम्रो धेरै पुँजी बाहिरिन्छ र विदेशी मुद्राको सञ्चिति सकिन धेरै समय लाग्दैन । हामीसँग विदेशी मुद्रा आम्दानीको स्रोत सीमित छ । अहिले रेमिट्यान्सले मात्र धानेको छ । वर्षभरमा १३ देखि १४ सय अर्ब नेपाली रुपैयाँ बराबरको सामान आयात हुन्छ । यस्तो परिवेशलाई ध्यानमा राखेर विदेशी मुद्राबारे कडा नीति बनाइएको हो । यस्तो कडाई नगर्ने हो भने हामी

अत्यावश्यक सामान किन्न समेत नसक्ने अवस्थामा पुग्छौं । त्यसैले हाम्रा लागि विदेशमा लगानी गर्न वा विदेशमा पैसा लैजान सहज छैन । त्यसैले अफसोर इन्भेस्टमेन्टमा कडाई गरिएको हो ।हामीसँग विदेशी मुद्रा सञ्चिति पर्याप्त हुने र विदेशी मुद्रा आर्जन गर्ने नियमित स्रोत हुने हो भने मात्रै विदेशमा लगानी गर्ने विषयमा उदार हुन सकिन्छ । करिब १० अर्ब डलर जति मात्र विदेशी मुद्रा सञ्चिति भएको मुलुकले विदेशमा लगानी गर्न दिने वा यहाँको सम्पत्ति बिक्री गरेर विदेश लैजान दिने हो भने हामी केही महिना पनि टिक्न सक्दैनौँ ।
(खोज पत्रकारिता केन्द्र)