काठमाडौं, असोज १९ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ । सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी र तोडफोड भएपछि अध्यक्षबाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको घोषणा नगरी सम्मेलन सम्पन्न गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिनु भएको थियो ।
सोमबारको बन्दसत्रमा पदाधिकारी, प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यहरु घोषणा गर्ने तयारी थियो । फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहितका नेताहरू आन्तरिक सहमतिबाट नामावली घोषणाको अन्तिम तयारी गरी बन्दसत्रको हलमा प्रवेश गर्नुभएको थियो । तर त्यसअघि नै अखिल क्रान्तिकारीको महासचिव दीपेश पुन बनेको समाचार मिडियाहरुमा सार्वजनिक भइसकेको थियो । जबकि बन्दसत्रमा फ्याक्सन इन्चार्जले नामावली प्रस्तुत गर्ने र हलले पास गर्ने प्रक्रिया पूरा हुन बाँकी नै थियो ।
महासचिवमा पुनको नाम सार्वजनिक भएलगत्तै महासचिवका दाबेदारहरु असन्तुष्ट थिए । महासचिवमा दीपेश पुनसँगै पवन कार्कीको पनि दाबी थियो । दीपेशको नाम मिडियामा पहिल्यै सार्वजनिक भएपछि फ्याक्सन इञ्चार्ज शाक्यले हलमा पदाधिकारीहरुको नामावली वाचन गर्न नपाउँदै होहल्ला हुन थाल्यो । असन्तुष्ट पक्षले महासचिवमा दीपेशलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गर्न थाल्यो । स्थिति असामान्य भएपछि फ्याक्सन इन्चार्ज शाक्यले अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्मेलन सकिएको घोषणा गर्नुभएको हो ।












प्रतिक्रिया दिनुहोस्