काठमाडौं, असोज १९ । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताउनुभएको छ । मालेस्थित नेशनल स्टेडियममा गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । ‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ ।

यो प्रतियोगितामा अंक धेरै महत्वपूर्ण छ । हामीले आज ६ अंकमा ६ अंक नै जोडेका छौँ ,’ खेलपछि पोष्टम्याच कन्फ्रेन्समा अलमुताइरीले भन्नुभयो ।। उहाँले नेपालको लागि तीन अंक नै ठूलो भएको बताउनुभयो । पाँच राष्ट्र सम्मिलित साफमा नेपालले लगातार दुई जितबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ । श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ ।

दोस्रो जितपछि नेपालको अब फाइनल पुग्ने सम्भावनासमेत बढेको छ । प्रशिक्षक अलमुताइरीले पनि यस जितले फाइनलमा पुग्ने सम्भावना बढाएको बताउनुभयो । ‘नेपालको अब फाइनल पुग्ने सम्भावना बढेको छ ।’ उहाँले म्याच डे थ्री मा पनि केही आश्चर्यजनक नतिजा आउने अपेक्षा राख्नुभयो । म्याच डे थ्री मा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच खेल हुनेछ ।नेपालले अब अर्को खेल असोज २४ गते भारतसंग खेल्नेछ । त्यसपछि बंगलादेशसंग असोज २७ गते खेल्नेछ ।













प्रतिक्रिया दिनुहोस्