जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १७:४६

खोटाङ सेवा समाज युएईद्धारा मृर्गौला पीडितलाई एक लाख एक हजार सहयोग


काठमाडौं, असोज २२ । खोटाङका मृर्गौला पीडित टेकबहादुर मगरलाई एक लाख एकहजार रूपियाँ सहयोग प्रदान गरिएको छ । खोटाङ सेवा समाज युएई (दुबई) मा रहेका नेपालीहरू रोशन मगर, प्रकाश मगर, शेखरनाथ घिमिरे, नविन थुलुङ राई, सन्दर्भ भुजेल, हिराधन चामलिङ र तेजबहादुर राई पहलमा सङ्कलन भएको उक्त रकम अभियन्ता शेखरनाथ घिमिरे र प्रकाश थापाले पीडित मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ का मगर गत चैत महिनादेखि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र सहिद धर्मभक्त हस्पिटलमा मृर्गौलाको उपचार गर्दै आउनुभएको छ । आर्थिक अवस्था नाजुक भएका मगरलाई औषधि उपचारका लागि दुवईमा बस्ने नेपालीले चन्दा उठाएर पठाएको रकम हस्तान्तरण गरेको शेखरनाथ घिमिरेले बताउनुभयो ।

बैदेसिक रोजगारीको सिलसिलामा मलेसियामा बस्दा विरामी परेर नेपाल फर्कनुभएका मगरले औषधि उपचार गर्दा टाढाबाट आउने–बस्ने गर्नुपर्दा करिब सात लाख रूपियाँ रकम खर्च भइसकेको बताउनुभयो । मगरले आमा, श्रीमती तीन छोरीको लालन–पालनको जिम्मेवारी उठाउनुपर्ने आफैं विरामी पर्दा निक्कै समस्या भएको बताउनुभयो । उहाँले खोटाङ समाजसेवा युएईलगायत चन्दा सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्नुभयो ।