जनता टाइम्स

२२ भाद्र २०८३, सोमबार १६:१२

प्रवासी नेपाली मञ्च यूरोपको अध्यक्षमा थपलिया, सरकारदेखि एमाले नेतासम्मलाई यस्तो छ आह्वान


स्पेन, भदौ २२ । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोपको अध्यक्षमा बेल्जियमका शालिकराम थपलिया निर्वाचित हुनुभएको छ । स्पेनको बार्सिलोनामा सम्पन्न प्रथम अधिवेशनले निवर्तमान कार्यसमितिका सचिव थपलियालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नेकपा एमालेका सचिव तथा संगठन बिभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा बिनोद न्यौपाने (बेल्जियम), सचिवमा राघबेन्द्र प्रताप कार्की, रबिन) (डेनमार्क) र उपसचिवमा बाबा राजेश्वरी थापा (अष्ट्रिया) र गोबिन्द साकोटा (यूके) लाई चयन गरेको छ ।

यसैगरी सदस्यहरूमा सुनिल रानाभाट (स्पेन), ईश्वर देबकोटा (पोल्याण्ड), केदार थपलिया (यूके), केशबराज पाण्डे (नेदरल्याण्ड), तिलक भट्टराई (यूके) र तुलसीनाथ सुबेदी (बेल्जियम) रहनुभएको छ ।

अधिवेशनमा प्रमुख अतिथी ढकालसहित अतिथीहरू केन्द्रीय सदस्य एवं यूरोप–ओसियाना ईन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्य महेश बर्तौला, केन्द्रीय सदस्य आरसी लामिछाने, ओएनएफका उपसचिव प्रभुराम थापा, अमेकिरा महादेश अध्यक्ष यमुना भट्टराईसहित केन्द्रीय सदस्यहरु सहभागी हुनुहुन्थ्यो । अधिबेशनले निवर्तमान संयोजक मुक्तबहादुर गुरुङको राजनैतिक प्रतिवदन र सचिव शालिक थपलियाले प्रस्तुत गर्नु भएको सांगठानिक एवं आर्थिक प्रतिबेदन सर्बसम्मतिले पारित गरेको छ ।

अधिवेशनले हालै रसुवा–नुवाकोट–धादिङ क्षेत्रमा भोटेकोशीबाट आएको बाढीले दिवंगत हुनु भएको सम्पूर्ण ब्यक्तिहरु प्रति हार्दिक समबेदना ब्यक्त गर्दै शोक–सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ भने सुरुङमा फसेका सवैको सकुशल उद्दारमा लागेका सुरक्षाकर्मीप्रति धन्यबाद ज्ञापन गरेको छ ।

यसैगरी सरकारले शिघ्र कदम नचाल्दा र शुरुका दिनमा गैरजिम्मेवाररुपमा प्रस्तुत हुंदा सुरुङ उद्धारमा ढिलाई हुनुको साथै स्वबिज्ञताले बेपत्ताहरुको जविनरक्षाको सवाल चुनौतीपूर्ण भएकोमा यो अधिबेशन दुःख समेत ब्यक्त गरेको छ । साथै बिस्थापित जनताको पुनस्थापनाको लागी र तत्कालै संचालनमा ल्याउनु पर्ने पूर्बाधारहरुको बैकल्पिक ब्यबस्थाको लागि समेत अधिबेशन जोडदार माग गरेको छ ।

यस्तै अधिवेशनले प्रवासी नेपालीको मुद्धामा स्पष्ट सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘प्रबासी नेपालीहरुको साझा मुद्धा नेपाली नागारिकताको निरन्तरताको सवालमा जस्ता परोक्ष मुद्दाहरुमा पार्टी सरकारमा हुंदा पर्याप्त ध्यान नपुगेको ठहर गर्दै आगामी दिनमा सरकारमा होस वा सरकार बाहिर यस्ता मुद्दामा प्रष्ट धारणा सहित सम्बोधनको लागी यो अधिबेशन जोडदार माग गर्दछ,’ घोषणापत्रमा भनिएको छ ।

यसैगरी अधिवेशनले नेकपा एमालेभित्र देखिएको भनिएको अनावश्यक टिकाटिप्पणी रोक्न पार्टीका नेता कार्यकर्ता सवैलाई आग्रह गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘हालै पार्टीभित्र देखिएको भनिएको अनाबश्यक छलफल र नेताहरुको सार्बजनिक टिकाटिप्पणी प्रति यो अधिबेशनको गम्भिर ध्यानआकर्षण भएको छ । पार्टी बिषम परिस्थितीमा रहेको बेला यस्ता प्रकारका ब्यबहारले न त प्रबास न घरबासमा रहेका कार्यकर्ताहरुको मनोबल बढ्छ– तत्काल यस्ता कृयाकलाप बन्द गरी शुक्ष्म समिक्षासहित नेतृत्वगणको बिबेक र बैधानिक समाधानको लागि यो अधिबेशन आह्वान गर्दछ।’

अधिवेशनले अहिले यूरोप नयां श्रम गन्तब्यको रुपमा रहेको भन्दै सुरक्षित आप्रबाशनको लागी सरोकारवालाहरु र सरकारको गम्भिर ध्यान जावोस भन्ने माग समेत गरेको छ । अधिवेशनले जलबायू परिवर्तनमा देखिएको कार्बन उत्सर्जन गर्ने बिकशित राज्यसंग नेपालले क्षतिपूर्ती र पूर्बाधार निर्माणमा उल्लेख सहयोग मात्र नभएर क्षतिपूर्तीको लागि समेत यूएन लगायत अन्तराष्ट्रिय मञ्चहरुमा पैरबी गर्न सरकारसमक्ष माग पनि गरेको छ ।