जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १८:३२

कपिलवस्तुको झाडापखालाका बिरामीमा हैजाको जीवाणु, ४३० मा झाडा


कपिलवस्तु, २२ असोज । कपिलवस्तुको कृष्णनगरपालिकामा झाडापखालाका बिरामीको संख्या ४३० पुगेको छ । कृष्णनगरपालिकाको वडा नं ३, ४, ७, ८, ९ र १२ मा देखिएको झाडापखाला एवं वान्ताबाट ४३० जना पीडित भएका छन् । हालसम्म निको भएकाको संख्या ३१४ छ भने ८२ जना अझै उपचाररत छन्। ३४ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । १८ असोजदेखि सुुरु भएको झाडापखाको संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

पिउने पानी सप्लाइ गर्न बिच्छ्याइएको पाइप फुट्दा उक्त ठाउँबाट नै संक्रमण फैलिएको अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरेको छ । संक्रमणको कारण पहिचान गर्न पाँचजना बिरामीको दिसाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । ६ दिनअघि कृष्णनगरमा फैलिएको झाडापखालाका विरामीहरुको दिसाको नमुनामा हैजाको जीवाणु भिब्रियो कलेरा नामक व्याक्टेरिया फेला परेको हो ।

मन्त्रालयले उक्त ठाँउमा संक्रमणबारे अनुगमन गर्न तीनजना चिकित्सकको टोली पठाएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा. रविन गौतमलाई मन्त्रालयले पठाएको हो । साथै मन्त्रालयले पानी शुद्धीकरणका गर्न संक्रमित क्षेत्रमा ५० हजार ट्याब्लेट क्लोरिन र आवश्यक स्वास्थ्य सामग्री समेत पठाएको छ ।