जनता टाइम्स

२६ आश्विन २०७८, मंगलवार १३:४९

सुदेश पराजुली र पञ्चा सिंहको हर्कतले सवै बिद्यार्थी लज्जित


काठमाडौं, असोज २६ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा समाहित भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी निकट बिद्यार्थी संगठनका अध्यक्षद्वयको सवैलाई लज्जित बनाउने हर्कत बाहिर आएको छ । माओवादी निकट अनेरास्वबियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र एकीकृत समाजवादीका अध्यक्ष सुदेश पराजुली रुपन्देहीको मोटतीपुरमा भएको नरसंहारमा मृतक र पूर्ववर्ती सरकार नै जिम्मेवार भन्दै अत्यन्तै निकृष्ट हर्कत बाहिर ल्याउनु भएको हो ।

उपेन्द्र यादव निकट बिद्यार्थी संगठनसहितका तीन दलीय बिद्यार्थी संगठनको तर्फबाट आज जारी गरिएको बिज्ञप्तीमा मोतीपुरको नरसंहार गर्ने कांग्रेस नेतृत्वको आफ्नै दल सहभागी सरकार दोषी नरहेको जिकिर गरिएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत उक्त घटना हुनुमा अघिल्लो सरकार जिम्मेवार रहेको भन्दै दिउसै रात पार्ने धृष्टता गरिएको छ ।

तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरूपयोग गरी औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै त्यहाँका जनतालाई लखेटेको कारण घटना भएको उनीहरूको आरोप छ । आइतबार मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको ज्यान गएको थियो । भने ५० जना भन्दा बढी सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका थिए । उक्त क्षेत्रको सुकुम्बासी समस्याको दीर्घकालिन समाधान खोज्न समेत सरकारसँग माग गरेका छन् ।

घटनामा नेपाली कांग्रेसको कार्यकर्ताको संलग्नता पुष्टि भइसकेको छ तर बिज्ञप्तीमा केही बोलिएको छैन । यो बिज्ञप्तीलाई सो बिद्यार्थी संगठनकै नेता कार्यकर्ताहरुले अध्यक्षको निकृष्ट हर्कत र दिउसै रात पाने धृष्टताको रुपमा ब्यख्या गरेका छन । चार जनाको नरसंहार मच्चाउने गृहमन्त्री र प्रधानमन्त्रीको बचाउमा यतिसम्म निकृष्ट ढंगबाट संगठनकै नाममा बक्तब्य आउनु दुखद भएको दुवै संगठनका नेता कार्यकर्ताले बताएका छन । यत्तिसम्म कि बिज्ञप्ती शेयर गर्नसमेत दुवै अखिलका नेताहरुले अस्वीकार गरेको पाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग भित्री साँठगाँठ गरी यो बक्तब्य आएको ती नेताहरुको बुझाइ छ ।