जनता टाइम्स

२७ आश्विन २०७८, बुधबार ०९:१४

दुर्घटना रोक्न प्रधानमन्त्री देउवाको तीन निर्देशन


काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि तीन वटा निर्देशन पनि दिनुभएको छ । उहाँले सार्वजनिक निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउनु भएको हो ।