जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार ०९:०१

न्यायाधीशहरुको दसैँ : कोही अध्ययनमा त कोही घुमघाममा, प्रधानन्यायाधीश छैनन छुट्टिमा



कमलराज भट्ट,/काठमाडौं । सधैँ न्यायिक अध्ययन, मुद्दा मामिला, फैसलामा घोत्लिने न्यायमूर्तिहरु चाडपर्वको बेला थोरै भए पनि फुर्सदमा हुन्छन् । त्यसमाथि अलि लामै विदा हुने नेपालीहरुको महान चाड दशैँमा न्यायाधीशहरुले छुट्टि पाउँछन् । छुट्टिमा दशैँ टिका ग्रहण गर्नुका अलावामा घुमफिर गर्ने, अध्ययन गर्ने, परिवारसँग समय विताउने अवसर पनि पाउँछन् । विगत दुई वर्षदेखि कोभिड १९ संक्रमणले दशैँ परिवारभित्र खुम्चिएका बेला यसपालि अवस्था सामान्य हुँदा सबैतिर रौनक त्यसमाथि कानुनी अध्ययन, अनुसन्धानमा सक्रिय रहने न्यायाधीशका लागि पनि यसपालिको सामान्य अवस्था विशेष छ । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशले आ- आफ्नै दशैँविशेष योजना बनाएका छन् । केहीसँग न्युज कारखानाले कुराकानी गरेर सारांशमा न्यायाधीशका दशैँविशेष योजना समेट्ने प्रयास गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

नेपाली नागरिकले जसरी दशैँ मनाउने हो सामान्य तरिकाले आफूभन्दा माथिल्ला व्यक्तिहरुसँग आर्शिवाद लिएर मनाउने मात्र हो । अरु त्यस्तो विशेष किसिमको कार्यक्रमहरु छैन । उपत्यकामै परिवारसँग हुन्छु । मैले टिका ठूलो दिज्जुहरु, दाईहरुबाट लगाउँछु । चार जना दिदीबहिनी, दुई जना दाजु हुन् । त्यसपछि म र भाई हो । अहिले कोभिड १९ संक्रमणको समय भएकाले मैले शुभचिन्तकलाई यो वर्ष टिका लगाइदिने छैन । पारिवारिक घुमघामको कार्यक्रम पनि केही छैन । यस्तो बेलामा हामीले हाम्रो धर्म संस्कृतिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । भगवानप्रति नै लिन हुने कुरा हो । भगवानको पूजा आराधना हो ।

मैले यो चाडपर्वलाई छुट्टिको रुपमा प्रयोग गरेको छैन । त्यसैलेअध्ययन गर्ने त्यस्तो विशेष छैन । दशैँ नेपाली र त्यसमा पनि हिन्दुहरुको महान पर्व र चाड हो । यसलाई हामीले एकदमै हृदयमा राखेर आफ्नो परम्पराअनुसार मान्नुपर्छ । यो सबै नेपालीको, सबै जातजातिको पर्वको रुपमा गइसकेको हुनाले हृदयदेखि नै खुला हृदय राखेर चाडपर्वदशैँ, तिहार, दीपावली, छठ, न्हूदँया, भिंतुनालाई हामीले ठूलो चाडको रुपमा मान्नुपर्छ । हाम्रो दायित्व र कर्तव्य भनेकै हाम्रो सबै किसिमको धार्मिक, सामाजिकर सांस्कृतिक संरचनालाई जगेर्ना गर्नुपर्छ । उच्च प्राथमिकतामा राख्नुपर्छ र त्यसलाई अनुशरण गर्दै जानुपर्छ ।

हरिकृष्ण कार्की न्यायाधीश

दशैँ विशेष योजना खासै केही छैन । बाहिर जाने कार्यक्रम छैन । उपत्यकामै घरमै बसेर मनाउने हो । टिका मैले दाई, माइलो काकार साइँली काकीबाट ग्रहण गर्छु । मेरो परिवारको सबैभन्दा ठूलो उहाँहरु नै हो । उहाँहरुबाटै लाउने हो । शुभचिन्तकलाई टिका लाइदिने चलन छैन । परिवारभित्रका आफूभन्दा सानालाई मात्रै लाइदिने गरेको छु । घुमघामको योजना छैन । अब बाँकी रहेको समयमा अब अफिसियल कामहरु पनि छ । त्यो देखि बाहेको समयमा आफूलाई रुचि लागेका पुस्तकहरु पढ्ने हो । यो सांस्कृतिक पर्व हो । यसले परिवार पुनर्मिलन गराउँछ । परम्परागत रुपमा मान्ने हो । तर त्यसरी मान्ने चलन अहिले धेरै घटिसकेको छ । पहिले पो धेरैजना मान्छेहरु जमघट हुने, आफ्नो जन्मेको, हुर्केको, पढेको ठाउँबाट टाढ्टाढा हुने रफर्किने, जाने, त्यहाँ सबैसँग भेटघाट हुने त्यो खालको एउटा रमाइलोपन हुन्थ्यो । अहिले त प्राय सबै मान्छेहरु जहाँ जहाँ छन् त्यहीँ भेला हुने, बस्ने खालको स्थिति बनेर गयो । गाउँतिरभन्दा धेरै शहरकेन्द्रीत भए मान्छेहरु । पहिलेजस्तो चार्मिङ त अहिले त्यतिधेरै देखिँदैन । त्यहीँ रुपमै मनाउने हो ।

सपना प्रधान मल्ल

दुई वर्ष कोभिड १९ संक्रमणको महामारीले मनाउन नपाएकाले अलिकति भए पनि मनाउन पाउँदा यसपालि दशैँ विशेष छ । अवसरजस्तो भएको छ । हामी अदालतको कर्मचारी, न्यायाधीशहरु दशैँमा पनि कामै गर्ने हो । दशैँमा पनि ड्युटी त छँदैछ । फैसला लेखनको कार्य पनि बाँकी नै रहेकाले सक्नुपर्नेछ । दशैँ बुढो सासुसँग बसेर काठमाडौंमै मनाउने योजना छ । घुमघाम भइरहेको छ । छुट्टि भएपछि हाइकिङ सुरु गरेको छु । विष्णुमतिको मुहानमा ढुंगैढुंगामा चढेर हिँडेर पुग्दा रमाइलो लाग्यो । आनी गुम्बा पनि जाने योजना छ । काठमाडौंकै छेउछाउ घुम्ने ठाउँ धेरै छ । शनिबारै कुर्न परेन । दशैँ विदाले यो अवसर पनि जोडेको छ । मठ मन्दिरमा जाने समय पनि मिलेको छ । यसपालिको दशैँमा भेटघाट, घरमा पूजापाठ, नेवारको फेरि भोजभतेर, सपरिवार खानपिन गर्ने, टिका थाप्ने, टिका लगाइदिने, नजिकै घुम्ने त्यहीँ नै कार्यक्रम छ ।

मैले सासुबाट टिका थाप्छु । अनि अरुलाई लगाइदिने हो । कोही शुभचिन्तक आउनुभयो भने शुभकामना र आशिर्वाद लिने/दिने यसैगरी मनाइन्छ । फैसला लेखनको धेरै काम भएकाले यसपालि अन्य पुस्तकहरु अध्ययन गर्ने समय छैन । मुद्दा र फैसला लेखनसँग जोडिएका रिलेभेन्ट किताबहरु, आर्टिकलहरु पढिरहेको छु । कानुनहरु समयानुसार परिवर्तन हुँदैछन् । तर हामी पुरानो जुरिसप्रुडेन्सलाई मात्र आधार मान्छौं । जस्तो रेप केसमा परम्परागत मेडिकल जुरिसप्रुडेन्समा पनि फरक दृष्टिकोणबाट कसरी अगाडि जाने भन्ने कुरासँग सम्बन्धित आर्टिकलहरु पढिरहेको छु । चाडपर्वलाई मैले संस्कृतिका रुपमा लिन्छु । जोडिने, विविधतामा एकता ल्याउने आधारका रुपमा हेर्छु । मान्छेको फरक धर्म, भाषा, जाति होला, तर यो चाडपर्वले हामी सबैको संस्कृति एउटै हो । किनभने संस्कृति पनि एउटा एकतामा बाध्ने आधार हो ।

हरि फुयाँल न्यायाधीश

मेरो दशैँ योजना घरमै बस्ने, पुस्तक पढ्ने छ । टिका आमाबाट थाप्छु । शुभचिन्तक र घरपरिवारका सदस्यलाई टिका लगाइदिन्छु । पुस्तक पढ्नुका साथै विभिन्न फैसलाहरुको लेखन कार्य गर्ने भन्ने छ । यसपालि पारिवारिक घुमघाम छैन । दशैँ तिहारजस्ता चाडपर्व परिवारसँग मिलन, आशिर्वाद लिने, धार्मिक, सांस्कृतिक हिसाबले पूजापाठ गर्नेहो । त्यहीँ हिसाबले लिनुपर्छ ।

नहकुल सुवेदी न्यायाधीश

मेरो टिका म्याग्दीमा हुन्छ । म्याग्दीको रघुगंगा गाउँपालिका-३ राखुमा ९० वर्षको पिता हुनुहुन्छ । उहाँबाट, काका,दाईभाउजुहरु टिका ग्रहण गर्छु । शुभचिन्तक आफूभन्दा सानोलाई टिका लगाइदिने, आशिर्वाद दिने गर्छु । घोडेपानी, टोड्केजस्ता धार्मिक पर्यटकीय क्षेत्रमा भ्याएसम्म घुमघाम गर्छु । बाटोमा पर्ने मठमन्दिरहरु दर्शन भइहाल्यो । घरमा पिताजीसँग बस्ने बाहेक अरु त्यस्तो केही योजना छैन । फिक्सनहरु एकदुइटा किताब पढ्ने योजना छ । फेरि घरमा दाजुभाई भेट हुने हुन्छ । घरमा नजाँदा छुट्टिमा अलि धेरै पढाई हुन्छ । एक दुई किताब जहिले साथमा हुन्छ । दशैँको धार्मिक, सामाजिक, सांस्कृतिक महत्व छ । एकता सद्भाव कायम गराउँछ ।

तिलप्रसाद श्रेष्ठ-मुख्य न्यायाधीश,विराटनगर उच्च अदालत

दशैँ स्याङ्जास्थितघरमैहुन्छ । बुवाआमाबाट टिका लगाउँछु । शुभचिन्तकलाई टिका लगाइदिन्छु । टिकाको भोलिपल्ट कार्यक्षेत्रमा फर्किन्छु ।यसपालि पारिवारिक भेटघाट र जिल्लामै घुमघामको योजना छ । दशैँको छुट्टिलाई मैले अध्ययनको रुपमा उपयोग गर्ने सोंचेको छु । यसपालि दुइटा अध्ययन गरिरहेको छु । एउटा चेञ्च मेकर भनेर जुडियसरी वेलविइङमा । अष्ट्रेलियाको भिक्टरियाको कलेजबाट शब्द पाएको छु । त्यसमा अध्ययन खोजी गरिरहेको छु । यो शब्दलाई न्यायिक स्वास्थ्य भनेर नेपालीमा भनेको छु । मानव स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने भनेझै जुडिसियरीलाई कसरी स्वस्थ बनाउने भन्ने अध्ययनमा लागेको छु । दशैँले विशेषत:हामीलाई सत्यको विजय भन्ने परम्परागत मान्यता छ । हामीलाई सत्य निष्ठाप्रतिकोहाम्रो प्रतिबद्धता राम्रो कसरी गर्न सकिन्छ भनेर शुभकामना, आशिर्वाद आदानप्रदान गर्ने हो ।

हेमन्त रावल- न्यायाधीश, चितवन जिल्ला अदालत

यसपालि मेरो टिका छैन । गाउँमा मेरो ठूलो बुवाको छोरा-भाइ वितेको ४५ दिन पुगेको छैन । त्यसले गर्दा यसपालि टिका हुँदैन । तै पनि घरपरिवारसँग बसेर काठमाडौंमै छुट्टिको समय विताइरहेको छु । आफन्तहरुसँग भेटघाट, घरमै बसेर अध्ययन र परिवारसँगको घुमफिरमै विताइरहेको छु । उपत्यकाका नयाँ नयाँ ठाउँमा केटाकेटीसँग घुमघाम भइरहेको छ । जुठो परेकाले मन्दिर जान मिलेको छैन । चाडपर्वलाई संस्कार मान्नुपर्छ । हामीले संस्कृति जोगाएनौ भने हाम्रो पुस्तान्तरण हुँदैन । नयाँ पुस्ताले बिर्सिँदै जान्छ । त्यसकारण हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्वलाई रमाइलोसँग मनाउनुपर्छ । आफ्नो आवश्यकता र हैसियतअनुसार मितव्ययी बन्नुपर्छ । धार्मिक महत्व कायम राख्दै अनुशासित मर्यादित भएर मनाउनुपर्छ ।