जनता टाइम्स

९ असार २०७६, सोमबार ०९:०५

खाडी मुलुकका ९ देशका लागि ‘नो अब्जेक्सन लेटर’ अनिवार्य


काठमाडौँ ।

भारतको विमानस्थल प्रयोग गरी साउदी, कतार, कुवेत, यूएई, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जानेले सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । भारतस्थित नेपाली राजदूतावासले भारतीय अध्यागमन पार गर्नका लागि दूतावासको सिफारिसपत्र आवश्यक लिनुपर्ने गरी नयाँ व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार सिफारिसपत्रबिना अध्यागमन पार गर्न नपाइने भन्दै भारतस्थित दूतावासले दूतावासको सिफारिसका लागि आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासका अनुसार त्यो देश जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिले हस्ताक्षर गरेर निवेदन दिनुपर्ने छ । साथमा पासपोर्ट, गन्तव्य देशको हवाइ टिकट र भिसा, वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार विभागले जारी गरेको श्रम स्वीकृतिको प्रतिलिपि लगायतका कागजात पेश गर्नुपर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ । साथै चीन, मकाउ, हङ्कङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने पनि दूतावासले जनाएको छ ।