जनता टाइम्स

३० आश्विन २०७८, शनिबार २१:४३

साफ च्याम्पियनसिप फाइनल : पहिलो हाफमा गोलरहित बराबरी


माले, असोज ३०। नेपाल र भारतबीच साफ चयाम्पियनसिप २०२१ को फाइनल खेलको पहिलो हाफ गोलरहित बरावरीमा सकिएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको फाइलन खेलको पहिलो हाफ गोलरहित बरावरीमा टुंगिएको हो ।

खेल सुरुआतदेखि नै वर्षा सुरु भएकाले मैदान चिप्लो भएको छ भने बल कन्ट्रोलमा समस्या देखिएको छ । रोमाञ्चक फाइनलअन्तर्गत जारी खेलमा दुवै टोलीले केही मौका भने सिर्जना गर्ने कोसिस गरेका छन् ।

चौथो मिनेटमा यासिर मोहम्मदले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारलाई राम्रोसँग नियन्त्रणमा लिन नेपाली गोलकिपर किरण चेम्जोङ असफल भए पनि भारतीय मिडफिल्डर अनिरुध थापाले ६ यार्ड बक्स नजिकबाट प्रहार गरे पनि किरणले छोटो समयमा दुई उत्कृष्ट बचाउ गरेका थिए । छैठौं मिनेटमा नेपाली फरवार्ड नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्केको थियो ।

खेलको १४औं मिनेटमा भारतीय खेलाडी यासिरले गरेको अर्को प्रहार नेपालले गोललाइन नजिकबाट क्लियर गरेको थियो । खतरा बन्ने सम्भावना रहे पनि नेपाली डिफेन्डरले बल सहजै क्लियर गरेका थिए । यस्तै खेलको १७औं मिनेटमा नेपालले गोलको मौका सृजना गर्ने अवसर पाएको थियो । तर, लगातार वर्षाका कारण चिप्लो मैदानमा मिडफिल्डर तेज तामाङ चिप्लिएसँगै नेपालले सशक्त आक्रमणको मौका गुमाएको थियो ।

भारतीय कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गरेको राम्रो प्रहारलाई नेपाली कप्तान तथा गोलकिपर किरणले रोकेका थिए । उनले दायाँतर्फबाट बटम कर्नरमा गरेको प्रहारलाई किरणले सहजै बचाएका थिए । आजको खेलमा नेपालले ४–५–१ लाइनअपमा खेलेको छ । नेपालका लागि पहिलो रोजाइमा गोलकिपर तथा कप्तान किरणकुमार लिम्बु रहेका छन् । त्यस्तै पहिलो रोजाइमा डिफेन्डरका रूपमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन् । मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र रोहित चन्द रहेका छन् । आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।

अन्जन विष्ट भने दोहोरो पहेँलो कार्ड पाएका कारण मैदान बाहिर रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि दर्शकदिर्घामा मात्र रहनेछन् । उनलाई साफले दोहोरो पहेँलो कार्ड पाएको भन्दै फाइनलमा प्रतिबन्ध गरेको हो।