जनता टाइम्स

३१ आश्विन २०७८, आईतवार १२:२५

दोलखामा पहिलो पटक रेस्लिङ प्रतियोगिता हुँदै, यी चर्चित रेस्लरबीच हुनेछ भिडन्त


दोलखा, असोज ३१ । सुन्दर हिमाली जिल्ला दोलखामा पहिलो पटक रेसलिङ प्रतियोगिता हुने भएको छ। धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा सुन्दर जिल्ला दोलखामा पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक हाई अल्टिच्यूट रिङ रेस्लिङ प्रतियोगिता हुने भएको हो।

प्रदेश खेलकुद बिकास परिषद्को शाहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता गर्ने कार्यक्रम अन्तर्गत यो वर्षको रेस्लिङ खेल दोलखामा गर्न लागेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिब सुर्यलाल भण्डारीले जानकारी दिनुभयो । सो प्रतियोगिता यही कात्तिक १३ गते चरिकोट स्थित भ्यू टावर नजिकैको फुटबल मैदानमा हुँने आयोजकले जनाएको छ ।

प्रतियोगिता नुवाकोट टाइगर, थागु, डेभिड, साईन टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, सिजे, एससी, जोन लगाएतका १७ जना महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार, हाईकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपियाँका साथमा मेल र प्रमाणपत्र पाउनेछन्।

नेपालमा रिङ्ग रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसमेत रहनुभएकी नेपाल रिङ रेस्लिङ संघका महासचिव सुवर्ण श्रेष्ठले बताउनु भयो। विश्वमा मात्रै नभई नेपालमा समेत रिङ रेस्लिङ खेलको लोकप्रियता बढ्दो रहेकाले रेस्लिङ खेलको बिकास र विस्तार गर्न राष्ट्रिय खेलकुद परिषदमा आबद्ध भई खेलको प्रवर्द्धन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको उत्पादनमा सहयोग पुग्ने बताइएको छ। खेल दिनको १ बजे सुरु हुने र करिब ४ घण्टासम्म सञ्चालन हुने बताइएको छ।