जनता टाइम्स

३१ आश्विन २०७८, आईतवार १६:४७

पतिलाई ढाँटेर मध्यराती परपुरुससँग यौनलिला, देखेपछि दुवै मिलेर पतिकै हत्या


धनगढी, असोज ३१ । कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका– ७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जानकारी दिनुभयो । अमृता र विष्णुबीच केही वर्षदेखि अबैध सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको बताउनु भयो ।

‘रमेश चौधरीले आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछन । सो क्रममा आवेगमा आएर विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपी अधिकारीले भन्नुभयो, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’ उनीहरुले रमेशको हत्या गरिसकेपछि राति नै शव बोकेर खुटिया नदी नजिकैको चौरमा फालेर घटनाबारे कसैलाई नबताउने शर्तमा दुवै जना घरतर्फ लागेको अनुसन्धानका क्रममा पाइएको अधिकारीले बताउनु भयो ।