जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार १७:०५

मञ्जु यादवको आक्रोश : माथिल्लो कमिटीमा आफू बस्ने, तल्लो कमिटीमा श्रीमती-साली-नातागोतालाई मनोनित गर्ने ?


काठमाडौं, कात्तिक १ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीमा नेताका आफन्त पहिलो प्राथमिकतामा परेको तथ्य बाहिर आएको छ । नेकपा एकीकृत समाजवादीकै नेताहरुले केन्द्रीय कमिटीमा माथिल्लो तहमा बसेका नेताका परिवारका सदस्य र नातागोतालाई केन्द्रीय कमिटीमा ल्याएको तथ्य खोलेका हुन ।

प्रदेश २ की नेतृमञ्जु यादवले केन्द्रीय कमिटीमा सवै आफन्तले भरिएको बताउनु भएको छ । कमिटी चयन गर्दा पुरुषवाद हावी भएको, नातागोताले स्थान पाएको भन्दै उहाँले विरोध गर्नुभएको हो । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष नेपालकै भाइ सरोज उपाध्याय र भाञ्जा नितेश पौडेल केन्द्रीय कमिटी सदस्य बनाइएको छ । यस्तै माधवका सम्धी सोमप्रसाद पाण्डेदेखि माधवका नातेदार मात्रै एक दर्जन बढी रहेका छन । यो क्रम तलसम्म रहेको नेतृ यादवको भनाईले प्रष्ट गरेको छ ।

एमालेभित्र विधि प्रक्रिया र पद्धति पालना नभएको भनी फुटेका पूर्वप्रधानमन्त्री नेपालले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरी ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नुभएको छ । जस्मा एमालेमा रहँदा वडा कमिटी सदस्यसमेत नरहेका पनि केन्द्रीय सदस्य परेका छन भने जनसंगठनका अध्यक्ष र पदाधिकारीलाई बाइपास गरेर मातहतमा रहेका ब्यक्तिलाई पनि केन्द्रीय सदस्य बनाइएको छ ।

एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा लाग्नुभएकी प्रदेश २ की प्रदेश सभा सदस्य मञ्जु यादवले फेसबुकमै स्ट्याटस लेखेर माधव समुहको भण्डाफोर गर्नुभएको छ । ’प्रदेश दुई भनेको एस पार्टीका लागि दलाल प्रवृत्ति भएका पुरुष मात्रका लागि हो । माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली, नातागोतालाई मनोनित गर्ने,’ यादवले लेख्नुभएको छ ।

यादवले नेतृत्वलाई कडा चुनौती पनि दिनुभएको छ । चुनौतीका साथ भन्छु–आउने चुनावमा माथिल्लो कमिटीमा बसेका नेताहरुले प्रतिनिधिसभाका चुनावका टिकट लिने आट गरोस । हामी जस्तो महिलाहरु तिमीहरुका दास होइनौं, हुन सक्दैनौं ।’ नेकपा (एकीकृत समाजवादी) ले केही दिनअघि मात्रै ३३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठनसहित कार्यबिभाजन गरेर सर्कुलर जारी गरेको थियो । जसमा नेताका आसेपासे र नातेदारलाई मात्रै स्थान दिएको भन्दै कडा बिरोध भएको छ ।