जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार १२:५२

कांग्रेसकै बहुमत भएको नगरपालिकामा नेपाली कांग्रेसबाटै निर्वाचित वडाध्यक्षले दिए राजीनामा


रामेछाप, असोज २२ । रामेछाप नगरपालिकामा नगर प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसको दुईतिहाइभन्दा बढी स्पष्ट बहुमत रहेकै अवस्थामा सोही पार्टीबाट निर्वाचित वडाध्यक्षले पदबाट राजीनामा दिनुभएकाे छ।

रामेछाप नगरपालिका वडा नं. १ (गोठगाउँ) का वडाध्यक्ष रेखबहादुर खत्रीले आफ्नो पदबाट राजीनामा दिनुभएकाे हाे। खत्री स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएकाे थियाे । 

नगर प्रमुखसमक्ष पेस गरिएको राजीनामा पत्रमा खत्रीले नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया तथा वडा नं. १ प्रति देखाइएको व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिका रूपमा प्रभावकारी ढङ्गले काम गर्ने वातावरण असहज बन्दै गएको उल्लेख गर्नु भएकाे छ । राजीनामा पत्रमा उहाँले लेख्नु भएकाे छ, “जनताको उचित माग र वडाको हितभन्दा व्यक्तिगत असहमति, पूर्वाग्रह वा आन्तरिक मतभेदले प्राथमिकता पाएको अनुभूति हुने गरी निर्णय तथा व्यवहारहरू हुनु लोकतान्त्रिक स्थानीय शासनको मर्मअनुकूल भएन।”

जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्न आवश्यक वातावरण, सहकार्य, समान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेकाले पदमा निरन्तर रहिरहनु वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्ष निकाल्दै राजीनामा दिएको उहाँले स्पष्ट पार्नु भएकाे छ । पदबाट अलग भए पनि वडावासीको सेवा, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता खत्रीले व्यक्त गर्नु भएकाे छ । 

आफ्नै पार्टीको दुईतिहाइ बहुमत रहेको कार्यपालिकाभित्र आन्तरिक समन्वय र समान व्यवहार नभएको भन्दै सत्ताधारी दलकै वडाध्यक्षले राजीनामा दिएपछि रामेछापको स्थानीय राजनीतिमा यसलाई चासोका साथ हेरिएको छ।