जनता टाइम्स

२ कार्तिक २०७८, मंगलवार ०८:११

राखेपका सदस्यसचिव सिलवाल बर्खास्त



काठमाडौं, कात्तिक २ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गरिरहेको वर्तमान सरकारले युवा तथा खेलकुद मन्त्रालयमार्फत सिलवाललाई दसैंअघि नै असोज ११ गते पत्र काटेर ‘सफाइको मौका’ दिएको थियो

नेपाली टोली ऐतिहासिक रूपमा दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको फाइनलमा पुगेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निमन्त्रणामा खेल हेर्न माल्दिभ्स पुग्नुभएका सिलवाल नेपाल आइनपुग्दै पदच्युत हुनुभएको हो ।

राखेप सदस्यसचिवका रूपमा केशवकुमार विष्टको कार्यकाल सकिएपछि सिलवाललाई तत्कालीन सरकारले २०७६ असार २३ गते राखेप सदस्यसचिवका रूपमा नियुक्ति दिएको थियो । चारवर्षे कार्यकालका लागि नियुक्त भए पनि २०७७ साल असार १७ गते नयाँ राष्ट्रिय खेलकुद ऐन लागू भएपछि स्वतः पदमुक्त भएका सिलवालले छनोट प्रक्रिया पूरा गरी साउन १२ गते चारवर्षे कार्यकालका लागि नयाँ नियुक्ति पाउनु भएको थियो ।