जनता टाइम्स

२ कार्तिक २०७८, मंगलवार ११:४२

महाकालीमा यो वर्षकै ठूलो बाढी, टापुमा फसे पाँच जना


कञ्चनपुर, कात्तिक २ । भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना स्थानीय महाकाली नदीमा फसेका छन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका हुन् । स्थानीय खेमसिंह नाथका अनुसार मसेट्टीका स्थानीयले उक्त क्षेत्रमा कुखुराको खोर बनाएका थिए । त्यसकै लागि उनीहरू त्यहाँ बस्ने गरेका हुन् । आइतबारदेखि नै नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू बीचमा फसेका छन् ।

‘कुखुराका खोर बगाइसकेको छ, चट्टानको बीचमा पाँच जना फसेका छन्,’ नाथले भन्नुभयो, ‘उनीहरूको उद्धार गर्न सकिने अवस्था पनि छैन, यसबारे प्रहरीलाई जानकारी गराएका छौं ।’ ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ । खहरेमा समेत बाढीका कारण आउजाउ गर्न सकिने अवस्था छैन । ‘प्रहरी टोली त्यहाँ पुग्न सक्ने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भन्नुभयो, ‘उद्धारका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’

महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रममा रहेको छ । सोमबार बिहान महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो । बाढी अझै बढ्ने क्रम जारी छ । २०७० को बाढीमा महाकालीमा पानीको बहाव ५ लाख ३५ हजार क्युसेक मापन गरिएको थियो । त्यति बेला बाढीले ठूलो क्षति पुर्‍याएको थियो । यसैबीच टापुमा फसेकालाई हेलिकोप्टरबाट उद्धारको तयारी भइरहेको छ ।

नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । सय वर्ष पुरानो पुलमा जोखिम हुने भन्दै नदीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारी आवागमनमा रोक लगाइने गरेको छ ।