जनता टाइम्स

२ कार्तिक २०७८, मंगलवार १९:२६

लेउती खोलाको बाढीले कोसी राजमार्ग बगायो


ईश्वर थापा/न्युज कारखाना

धनकुटा, २ कात्तिक । अविरल परेको पानीका कारण लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोसी राजमार्गअन्तर्गत धरान—धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका( ६ फेदीमा करिव ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताउनुभयो। आज दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोसी राजमार्गमा सडकमा पसेको थियो ।

उहाँका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन । खोला उर्लिएको छ । बालुवा तथा माटोसहितको बाढी आइरहेको छ। बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ । धरानदेखि आएका र धनकुटाबाट गएका गाडीहरू बाटोमा नै रोकिएका छन् । सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुसभाबाट तराई जाने तथा तराईबाट धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभा जाने यातायातका साधन बाटैमा रोकिँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

पानीको बहाव बढेका कारण सडकमा अझै क्षति हुने संभावना रहेको उहाँले बताउनुभयो । राईका अनुसार तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन । यस कारण चाँडै सडक खुल्ने संभावना पनि छैन । अविरल रूपमा पानी परिरहेका कारण राजमार्गका वरपरि पहिरोको संभावना अझ बढेको छ । बढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन । बाटो बगाएदेखि तीन मिटर वर फेदी खोलामा पुल रहेको छ । त्यहाँ केही होटल र स्थानीयको घर रहेका छन् ।

जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोली बटो बगाएको स्थानमा पुगेका बतइएको छ । यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोसी राजमार्गका विभिन्न ठाउँमा पहिरो गइरहेको बताउनुभयो । उहाँका अनुसार सदरमुकाम मास्तिरको सल्लेरीमा रूख ढल्दा बाटो अवरुद्ध बनेको छ । त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रूख पन्छाएका छन् । उहाँले भन्नुभयो,‘ठाउँ–ठाउँमा रूख ढलेका छन् । ढलेका रूख पन्छाउने काम भइरहेको छ । लगातार पानी परिरहेकोले थप क्षति हुने संभावना छ ।’

यस्तै, हिले–भोजपुर सडक पनि अवरुद्ध भएको छ । हिले(भोजपुर सडक खण्डअन्तर्गत पाख्रिवास नगरपालिका–६ डिकुरेमा सडक अवरुद्ध बनेको हो । सडकमाथिबाट लेदो माटोसहित ढुंगा निरन्तर बगिरहेको छ । बाटो खुलाउन प्रहरी र डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नहकुल पोख्रेलले जानकारी दिनुभयो ।