जनता टाइम्स

२ कार्तिक २०७८, मंगलवार १९:३३

भारतले बाँधको ढोका बन्द गर्दा कर्णालीमा बाढी, बर्दियाको राजापुर क्षेत्रमा बाढी पस्यो


बर्दिया, कात्तिक २ । कर्णाली नदीमा निर्माण गरिएको भारतको गिरिजापुरी बाँधका सबै ढोका बन्द गरिएपछि राजापुर क्षेत्रमा बाढी पसेको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीका अनुसार भारतले ५५ वटामध्ये अधिकांश ढोका बन्द गरेका कारण कर्णालीको बाढी बस्तीमा पसेको हो ।

२०४० सालमा भारतले ढोका बन्द गर्दा ठूलो धनजनको क्षति भएको थियो । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बाँधका ढोका खुलाउन सशस्त्र प्रहरी निरीक्षकको टोली त्यसतर्फ पठाएको र ढोका खोल्ने पहल भइरहेको बताउनु भयो । यसैगरी बबईमा ५ दशमलव ५ मिटरमाथि बगे पनि स्थिर रहेको छ पहाडी र तराई क्षेत्रमा वर्षा नरोकिएकोले बाढीको जोखिम उच्च रहेको भन्दै प्रशासनले सचेत गराएको छ ।

तीन दिनदेखि परेको अविरल वर्षाले कर्णाली नदीमा आएको बाढीले सय बढी घर डुबानमा परेको छ । डुबानले राजापुर—१ टिहुनीबाट पसेको बाढीले यस भेगका करिब सय घर डुबानमा परेको राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरीले बताउनु भयो । पानीको सतह बढी रहेकोले यस भेगका बासिन्दालाई सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

गेरुवा गाउँपालिकाको वडा नम्बर २ र ३ का ६० घर परिवार घर छाडेर बाढीबाट सुरक्षित रहन बनाइएका आश्रयस्थल पुगेका छन् । सनकट्टी, चनौरा, वनकट्टीलगायतका गाउँमा बाढी पसेको अध्यक्ष केसीले बताउनु भयो । कर्णालीमा जलस्तर ११ दशमलव ५० मिटर नाघेकोले दर्जनौँ गाउँ डुबानको जोखिममा परेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारी धनजनको सुरक्षाका लागि आज बिहानैबाट परिचालन गरिएको छ ।